व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै बेलायती राजा चार्ल्स

बेलायती राजतन्त्रलाई थप पारदर्शी बनाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । योसँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्नेछन् ।

बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यो विवरण बाहिर ल्याउन लागेको हो । वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसर सार्वजनिक पद दुरुपयोगको आरोपमा अनुसन्धानमा परेपछि बेलायतमा राजतन्त्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठेको थियो । शाही सम्पत्तिबाट बाहिरिन बाध्य पारिएका एन्ड्र्युको विवादपछि राजा चार्ल्सले राजतन्त्रप्रति जनविश्वास बढाउन यो निर्णय लिएका हुन् ।

लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र उत्तरदायी बनाउने प्रयासमा रहेका राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान छ । उनी बेलायतका धनी व्यक्तिहरूको सूचीमा शीर्ष २ सय ५० भित्र पर्छन् ।

कानूनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन् । सन् १९९३ मा विन्डसर क्यासलमा आगलागी भएपछि बढेको सार्वजनिक दबाबका कारण रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गरेकी थिइन् ।

राजा चार्ल्सको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन् । बालमोरलमा करिब ५० हजार एकड र स्यान्ड्रिङ्घममा करिब २० हजार एकड जमिन रहेको छ, जहाँ पर्यटन र कृषि गतिविधिबाट आम्दानी हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री