कक्षा १२ को परीक्षाफलप्रति आक्रोश: उत्तरपुस्तिका पुनः परीक्षण निःशुल्क गर्न माग

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार काठमाडौँको माइतीघरमा भेला भएका विद्यार्थीले परीक्षाफलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै धर्ना दिएका हुन्।

आफूहरूले परीक्षा राम्रो दिए पनि सोचेभन्दा निकै कम ग्रेड आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्। परीक्षाफल छिटो निकाल्ने बहानामा मूल्यांकन प्रक्रियामा चरम लापरबाही गरिएको विद्यार्थीको आरोप छ।

उत्तरपुस्तिका पुनः जाँचको माग

Advertisement

आन्दोलनमा उत्रिएका विद्यार्थी रञ्जित कार्कीले कुन मापदण्डका आधारमा एक महिनामै नतिजा सार्वजनिक गरियो भन्दै प्रश्न गरे। बोर्डको गल्तीका कारण नतिजा बिग्रेकाले अब उत्तरपुस्तिका पुनः परीक्षण गर्दा कुनै शुल्क लिन नपाइने उनले बताए।

विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएकाले कपि पुनः जाँच गरेर मात्रै वास्तविकता बाहिर ल्याउनुपर्ने माग कार्कीले गरे। राम्रो परीक्षा दिएका विद्यार्थी समेत अहिले कम ग्रेड आएका कारण मानसिक तनावमा परेको उनले उल्लेख गरे।

‘रिटोटलिङ’ मात्रै पर्याप्त नभएको दाबी

अर्की विद्यार्थी स्मृति खतिवडाले उत्तीर्ण भएका अधिकांश विद्यार्थी समेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको जानकारी दिइन्। सरकारले यस विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने र केवल प्राप्तांक जोडिने ‘रिटोटलिङ’ ले मात्रै समस्या समाधान नहुने उनले स्पष्ट पारिन्।

विद्यार्थीले उत्तरपुस्तिकाको ‘रि-चेकिङ’ नै हुनुपर्ने माग राख्दै बोर्डले गर्ने गल्तीको सजाय विद्यार्थीलाई दिन नहुने बताए। त्रुटिपूर्ण परीक्षाफलका कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको भन्दै उनीहरूले दुःख व्यक्त गरे।

आन्दोलनकारीले ‘१२ वर्षको मेहनत खेर, यसको जिम्मेवार को?’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। बोर्डको लापरबाहीले विद्यार्थीलाई आर्थिक भार थप्ने काम तत्काल बन्द हुनुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री