पाल्पाबाट ६ वर्षमा ६८ लाख केजी दालचिनी र तेजपात भारत निर्यात

पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना आठ वर्षअघि ऋण गरेर मलेसिया गए । छ वर्ष वैदेशिक रोजगारमा बिताउँदा पनि राम्रो कमाइ हुन नसकेपछि उनी घर फर्किए । विदेश जानुअघि उनको परिवारले मकै र कोदोखेती गर्ने गरे पनि उनी फर्कँदा परिवारका सदस्यहरूले दालचिनी खेती सुरु गरिसकेका थिए । जीतबहादुर आफैँ पनि अहिले दालचिनी खेतीमा लागेका छन् र वार्षिक ५ देखि ८ लाख रुपैयाँसम्म कमाउन थालेका छन् । गाउँमै राम्रो आम्दानी हुन थालेपछि उनले विदेश जाने क्रम रोकेका छन् भने विदेशमै रहेका छोरालाई पनि घर बोलाएका छन् । खरबारी, भिर र कान्लामा लगाएको दालचिनीबाट गत वर्ष मात्र उनले ७ लाख रुपैयाँको कारोबार गरेर विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरे ।

Advertisement

स्थानीय दमयन्ती दर्लामीले गत वर्ष छोराको विवाह गर्दा लागेको २ लाख रुपैयाँ ऋणका कारण लामो समय चिन्ता भोग्नुपर्‍यो । उनका श्रीमान्ले चार वर्षअघि बारीको काल्नामा लगाएको दालचिनीको पात र बोक्रा बिक्रीबाट ४ लाख रुपैयाँ हात परेपछि उनको ऋण चुक्ता भयो र केही रकम बचत समेत भयो । यस्तै कथा रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुको पनि छ, जसकी छोरी कमलाको नर्स बन्ने सपना थियो । तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले त्यो सपना पूरा गर्न कठिन थियो । देवीकाले ५ वर्षअघि बाँझो जग्गामा लगाएको दालचिनीका पात र बोक्रा बिक्रीबाट गत वर्ष ५ लाख रुपैयाँ आम्दानी गरिन् र त्यही पैसाबाट अहिले छोरीलाई नर्स पढाइरहेकी छन् ।

निस्दीको ज्यामिरेका खेमबहादुर सोतीले २ लाख रुपैयाँमा किनेको भैँसी गोठमा आगलागी हुँदा मरेपछि ऋण तिर्न भारत जाने तयारी गरेका थिए । तर साथीभाइको सल्लाहमा खेर गइरहेको तेजपात बिक्री गर्दा उनले गत दसैँमा ३ लाख रुपैयाँ आम्दानी गरेर भैँसीको ऋण चुक्ता गर्न सफल भए । पाल्पाका यी किसानहरू दालचिनी र तेजपात खेतीबाट आत्मनिर्भर बन्दै गएका प्रतिनिधि पात्र मात्र हुन् । एक पटकको लगानी र कम मिहेनतमा वार्षिक ५ देखि ८ लाख रुपैयाँसम्म कमाउन सकिने भएपछि यहाँका किसानहरू दालचिनी खेतीतर्फ पूर्ण रूपमा आकर्षित भएका छन् ।

व्यावसायिक खेती र बजार विस्तार

भिरालो र खेती गर्न नसकिने बाँझो जग्गामा समेत सजिलै उत्पादन लिन सकिने भएकाले अचेल खेतीयोग्य जमिनमा पनि मानिसहरूले दालचिनीका बोट रोप्न थालेका छन् । मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने दालचिनी रोपेको तीन वर्षमै आम्दानी दिन सुरु गर्छ । पछिल्लो समय गाउँमा बाँदरको आतङ्क बढेका कारण अन्य बाली नष्ट भएपछि कृषकहरू यसतर्फ बढी आकर्षित भएका हुन् । गाउँ छाडेर सहरमा बस्नेहरूले समेत आफ्ना खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेका छन् । पाल्पाका रैनादेवी छहरा, तिनाउ, माथागढी, रम्भा, पूर्वखोला र निस्दीका विभिन्न क्षेत्रहरूबाट वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ । यातायातको सहज पहुँच पुगेपछि डिभिजन वन कार्यालय पाल्पाले बजार व्यवस्थापन, बिरुवा वितरण र क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेर कृषकलाई व्यावसायिक बन्न हौसला प्रदान गरेको छ ।

६ वर्षमा ६८ लाख केजी निर्यात

पाल्पाबाट छ वर्षको अवधिमा ६८ लाख ९ हजार ३७ किलोग्राम तेजपात र दालचिनीको बोक्रा निकासी भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा मात्र १२ लाख ८४ हजार ४ सय ८२ किलोग्राम तेजपात र ३ लाख ४७ हजार ९ सय ६९ किलोग्राम दालचिनीको बोक्रा भारत निकासी भएको छ । यहाँ उत्पादित तेजपात र दालचिनीको प्रमुख बजार भारत हो, जहाँ यसलाई औद्योगिक कच्चा पदार्थ र मसलाका रूपमा प्रयोग गरिन्छ । कृषकहरूले सामान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र दालचिनीको बोक्रा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गर्ने गर्दछन् । डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठका अनुसार तेजपात र दालचिनी यहाँका विपन्न नागरिकका लागि आम्दानीको मुख्य सहारा बनेको छ र यसको सकारात्मक प्रभावका कारण प्रत्येक वर्ष बिरुवाको माग बढिरहेको छ ।

घरदैलोमै पुग्छन् व्यापारी

दालचिनी खरिदका लागि स्थानीय व्यापारीहरू किसानको घर–घरमै पुग्ने गरेका छन् । पछिल्लो समय किसानले गाउँमै दालचिनीको पातको ६० रुपैयाँ र बोक्राको १ सय १५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् भने गोदामसम्म पुर्‍याउँदा थप १० देखि १५ रुपैयाँ बढी मूल्य पाइन्छ । व्यापारी लेखनाथ घिमिरेका अनुसार परम्परागत रूपमा खरियान र पाखोबारीका डिलमा उम्रिएका बिरुवाको संरक्षण गर्दै किसानहरूले खाली जग्गामा खेती विस्तार गरेका हुन् । दालचिनीको पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म कृषकहरूले आफ्नो अनुकूलताअनुसार काट्ने गर्दछन् ।

औषधीय गुणले भरिपूर्ण

दालचिनी र तेजपात भान्साको स्वाद बढाउन मात्र नभई विभिन्न औषधीय गुणले समेत भरिपूर्ण रहेका छन् । यसमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, क्याल्सियम, आइरन, म्याग्नेसियम, फाइबरका साथै एन्टिफङ्गल र एन्टिअक्सिडेन्ट तत्वहरू पाइन्छन् । आयुर्वेदमा यसको प्रयोग मस्तिष्कको क्षमता र स्मरण शक्ति बढाउन उपयोगी मानिन्छ । एक हेक्टर क्षेत्रफलमा १ हजार ६ सय सम्म बिरुवा लगाउन सकिने यो खेतीका लागि स्थानीय तहमै प्रशोधन केन्द्र स्थापना गर्न सके वैदेशिक मुद्रा आर्जन र स्वदेशी उद्योगको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री