स्कटल्यान्डको विश्वकप यात्रा अन्योलमा, प्रशिक्षक क्लार्कले भने– ‘हामी घर फर्कँदै छौँ’

ब्राजिलसँगको लज्जास्पद हारसँगै स्कटल्यान्डको विश्वकप यात्रा समूह चरणबाटै सकिने सम्भावना बलियो बनेको छ । समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा ब्राजिलसँग ३–० ले पराजित भएपछि प्रशिक्षक स्टिभ क्लार्कले टोली घर फर्कने तयारीमा रहेको संकेत गरेका छन् ।

Advertisement

ब्राजिलविरुद्धको खेलमा बराबरी मात्रै नतिजा निकालेको भए पनि स्कटल्यान्ड अन्तिम ३२ मा पुग्ने समीकरण थियो । तर खेल अवधिभर कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ब्राजिलका भिनिसियस जुनियरले दुई तथा माटेउस कुन्हाले एक गोल गरेपछि स्कटल्यान्ड स्तब्ध बनेको हो ।

ब्राजिलसँग पराजित भएपछि ३ अंक जोडेको स्कटल्यान्ड गोल भिन्नताका आधारमा समूहको तेस्रो स्थानमा खुम्चिएको छ । अब उसले अघिल्लो चरण प्रवेशका लागि उत्कृष्ट आठ तेस्रो टोलीको सूचीमा पर्न अन्य समूहका खेलहरूको नतिजा कुर्नुपर्नेछ ।

खेल सकिएलगत्तै अप्टाले स्कटल्यान्डको छनोट सम्भावना ४२ प्रतिशत मात्रै रहेको प्रक्षेपण गरेको छ । खराब प्रदर्शनपछि निराश बनेका मिडफिल्डर जन म्याकगिनले पनि टोली अघिल्लो चरण पुग्ने सम्भावना निकै कम रहेको स्वीकार गरे ।

प्रशिक्षक क्लार्कले आफ्नै गल्तीका कारण टोलीले ठूलो मूल्य चुकाउनुपरेको भन्दै खेलाडीहरूको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन् । उच्च ओस र गर्मीका बीच खेलाडीहरूले मिहिनेत गरे पनि यस्तो प्रतियोगितामा गल्तीका लागि कुनै ठाउँ नहुने उनले बताए ।

यसअघि नै सन् २०३० सम्मका लागि सम्झौता नवीकरण गरिसकेका ६२ वर्षीय प्रशिक्षक क्लार्कले टोलीको यात्रा लगभग सकिएको निराशावादी प्रतिक्रिया दिए । उनले उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न स्कटल्यान्डले आफ्नो खेलस्तरमा अझै धेरै सुधार गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री