
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै नकआउट समीकरण निकै रोमाञ्चक मोडमा पुगेको छ।
प्रतियोगितामा सहभागी कुल ४८ टोलीमध्ये १६ टोली समूह चरणबाटै बाहिरिनेछन् भने बाँकी ३२ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्।
नयाँ नियम र समीकरणका कारण यस पटक अघिल्लो चरणको यात्रा सहज भने देखिँदैन। प्रत्येक १२ वटा समूहका शीर्ष दुई टोली सिधै अन्तिम ३२ मा प्रवेश गर्नेछन्।
बाँकी रहेका ८ स्थानका लागि भने सबै समूहका तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। यदि दुई वा सोभन्दा बढी टोलीको अंक बराबर भएमा पहिलो ‘टाइ-ब्रेकर’का रूपमा ‘हेड-टु-हेड’ नतिजालाई हेरिनेछ।
त्यसपछि पनि अंक बराबर रहेमा गोल अन्तर, गोल संख्या, रातो र पहेँलो कार्डका आधारमा तय गरिने फिफाको अनुशासनात्मक अंक र अन्तिम विकल्पका रूपमा जुन महिनामा प्रकाशित फिफा वरीयतालाई आधार मानिनेछ।
समूह ‘ए’ र ‘बी’ को अवस्था
सह-आयोजक मेक्सिको समूह ‘ए’ मा आफ्ना सबै खेल जित्दै शतप्रतिशत नतिजाका साथ नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। मेक्सिकोले अब जुन ३० मा हुने अन्तिम ३२ को खेलमा समूह सी, ई, एफ, एच वा आईको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यसै समूहबाट दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ। दक्षिण अफ्रिकाले अब अघिल्लो चरणमा क्यानडाको सामना गर्नेछ।
यो नतिजासँगै दक्षिण कोरिया ३ अंकसहित तेस्रो स्थानमा खुम्चिँदै अघिल्लो चरण प्रवेशका लागि अन्य समूहको नतिजामा निर्भर रहनुपर्ने भएको छ। मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक भने मात्र १ अंक जोड्दै समूहको अन्तिम स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
समूह ‘बी’ मा स्विट्जरल्याण्डले क्यानडालाई २–१ ले पराजित गर्दै ७ अंकका साथ समूहको शीर्ष स्थान सुरक्षित गरेको छ।









प्रतिक्रिया