तराईमा हिटवेभको जोखिम कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना औंल्याएको छ। यो मौसमी प्रतिकूलताका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Advertisement

बिहीबार धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा भने तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने देखिएको छ।

गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने विभागका प्रवक्ता विभूति पोखरेलले बताए। उनका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षा हुने मौसम पूर्वानुमान छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ्दै गएको जलवायुविद्हरू बताउँछन्। यसले गर्दा जनस्वास्थ्य, कृषि तथा सर्वसाधारणको दैनिक जनजीवनमा प्रत्यक्ष नकारात्मक प्रभाव देखिन थालेको छ।

अत्यधिक गर्मीको समयमा सर्वसाधारणलाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन विभागले अनुरोध गरेको छ। घरभित्रै बस्दा पनि प्रशस्त पानी पिउन र हल्का तथा सुती कपडा लगाउन सुझाव दिइएको छ।

गर्मीको समयमा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह आवश्यक पर्ने विभागले जनाएको छ। प्रतिकूल मौसमबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिन आवश्यक रहेको मौसमविद्को भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री