बचत फिर्ता गराइदिन माग गर्दै महानगरमा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन दिएका छन् । विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म रकम फिर्ताको माग गर्दै निवेदन दिनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

Advertisement

विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेको र त्यसमा धेरैजसो १ लाखदेखि ५ लाख रुपैयाँसम्म जम्मा गर्ने साना बचतकर्ता रहेको जानकारी दिए । महानगरपालिकाले प्राप्त उजुरीकै आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियासमेत सुरु गरिसकेको छ ।

महानगरले केही दिनअघि मात्रै बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको १ लाख ५० हजार रुपैयाँसम्मको बचत फिर्ता गराएको छ । आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गराउने विभागको योजना रहेको छ ।

ठूला बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गराउन समन्वय भइरहेको प्रमुख काफ्लेले बताए । विभागले हाल उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ भने सहमति हुन नसकेमा कारबाहीका लागि सिफारिस गरिने जनाएको छ ।

हाल काठमाडौँ महानगरपालिकामा १ हजार ९१२ वटा सहकारी दर्ता रहेका छन् । कुल सहकारी सङ्ख्यामध्ये ५० प्रतिशतले मात्रै नियमित रूपमा आफ्नो वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् ।

दर्ता भएर पनि नियमित रूपमा साधारणसभा नगर्ने र जिम्मेवारी पूरा नगर्ने त्यस्ता सहकारीहरूलाई महानगरपालिकाले कानुनी रूपमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री