
बुधबार सेयर बजारमा गिरावट आएको छ। ननेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा ओर्लिएको छ।
मंगलबारको तुलनामा बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
बजार ओरालो लागे पनि टक्सार पिखुवा खोला र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर अन्तिम कारोबार ४५६ रुपैयाँ २० पैसामा सीमित भएको छ।
यस्तै भुजुङ्ग हाइड्रोपावरको मूल्य साढे १४ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ। यता सोपान फर्मास्यूटिकल्सको सेयर मूल्य भने सबैभन्दा धेरै ५.०५ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा बुधबार पनि आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहन सफल भएको छ। सो कम्पनीको २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
दोस्रो स्थानमा रहेको सोपान फर्मास्यूटिकल्सको १७ करोड र युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस दिन ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार कित्ता सेयर कुल ७२ हजार ९१७ पटक खरिदबिक्री भएका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये बुधबार वित्त र व्यापार उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ। बाँकी ११ उपसमूहको सूचकमा गिरावट आएको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ। यस्तै अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।









प्रतिक्रिया