
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि प्रविधिको प्रयोग गरिने भएको छ । ९९ जना केन्द्रीय सदस्य छान्नका लागि बुधबार राति ८:३० बजेदेखि विद्युतीय मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
मतदान प्रक्रियालाई छिटो र सहज बनाउन महाधिवेशन स्थलमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (विद्युतीय मतदान मेसिन) तयारी अवस्थामा राखिएका छन् । एक जना प्रतिनिधिलाई मत सङ्केत गर्न करिब १० देखि १५ मिनेटसम्म समय लाग्ने अनुमान समितिले गरेको छ ।
मतदान हुनुअघि प्रतिनिधिहरूलाई अल्मल्याउन नदिन र प्रविधिबारे सिकाउन डेमो अभ्याससमेत गराइएको छ । यस पटक केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले बुधबार चौथो पटक परिमार्जित कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनका बाँकी कार्यक्रम तय गरेको हो । तालिका अनुसार बुधबार दिउँसो ३:३० बजे उम्मेदवारहरूको प्रारम्भिक सूची निकालिएको थियो भने साँझ ५ बजेसम्म दाबी–विरोधको समय दिइएको थियो ।
साँझ ६ बजेसम्म नाम फिर्ता लिने अवधि तोकिएकोमा ६:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । अन्तिम सूची सार्वजनिक भएलगत्तै ६:४५ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।
मौन अवधि सकिएपछि राति ८:३० बजे सुरु हुने मतदान सकिएको दुई घण्टाभित्रै मतगणना सकेर परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । केन्द्रीय सदस्यहरूको निर्वाचन सकिएपछि मात्र पदाधिकारी चयनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।









प्रतिक्रिया