
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी सरगर्मी निकै बढेको छ। पहिलो चरणमा हुने केन्द्रीय सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दिने नेता, सांसद र सरकारका मन्त्रीहरू समेत बिहानैदेखि प्रचारप्रसारमा व्यस्त देखिएका छन्।
अत्यधिक गर्मीका बाबजुद चुनावी मैदानमा उत्रिएका बहालवाला मन्त्री तथा सांसदहरू आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका हुन्। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची सार्वजनिक नगरे पनि धेरैजसो मन्त्री र सांसदहरू आफैँ मैदानमा खटिएका छन्।
विगतमा प्रदेश तहका निर्वाचनहरूमा पार्टीका संस्थापक नेता तथा सांसदहरू नै अप्रत्यासित रूपमा पराजित भएका थिए। सोही कारण पनि यसपटक महत्वपूर्ण पदमा रहेका नेताहरूलाई पराजित हुने डरले दुई दिन अघिदेखि नै दौडधुप बढाएको बुझिएको छ।
पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि विद्युतीय माध्यमबाट मतदान हुने प्रक्रिया अघि बढेको छ। यस निर्वाचनमा ४ सयभन्दा बढी नेताहरूले उम्मेदवारी दिएका छन्।
महाधिवेशन परिसरमा पर्चा, पम्प्लेट, गीत, झाँकी र सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचारप्रसार भइरहेको छ। यद्यपि, उद्योग सङ्घको मुख्य परिसरभित्र भने पर्चा पम्प्लेटलगायतका भौतिक प्रचार सामग्रीहरू निषेध गरिएको छ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि मात्र निर्वाचन हुने व्यवस्था छ। खुलातर्फभन्दा पनि विभिन्न क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान रहेकाले यो निर्वाचन थप पेचिलो बनेको छ।
महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै छन्। पहिलो चरणमा निर्वाचित भएका सदस्यहरू मात्र दोस्रो चरणमा हुने अन्य पदाधिकारी निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन्।









प्रतिक्रिया