
चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ देशका विभिन्न ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ । गत चैत ४ गते मोरङमा पहिलोपटक पुष्टि भएको यो रोग अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीसहित काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा देखा परेको हो ।
पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ पन्छी नष्ट गरिएको छ । यसैगरी ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दाना समेत नष्ट पारिएको छ ।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने हाल बर्ड फ्लू रोग नियन्त्रणमा आइसकेको विभागले जनाएको छ । कोशी प्रदेशमा एक महिनासम्म पन्छीको ओसारपसारमा लगाइएको रोक रोग नियन्त्रणमा आएसँगै खुकुलो बनाइएको छ ।
अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गर्न पशु क्वारेन्टाइन कार्यालयहरूले गस्ती परिचालन गरी उच्च सतर्कता अपनाएका छन् । हाल काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका केही स्थानमा भने अझै पनि यसको प्रकोप देखिएकाले विशेष सावधानी अपनाउन अपिल गरिएको छ ।
बर्ड फ्लू नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा विशेष नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा अभियान चलाइएको छ । दाहालले रोगको थप विस्तार रोक्न फार्म परिसरमा जैविक सुरक्षाका कडा विधिहरू अपनाउन आग्रह गरे ।
किसानहरूले फार्ममा अण्डा राख्ने पुराना कागजका क्रेटहरू पुनः प्रयोगमा ल्याउन नहुने सुझाव विभागको छ । ढुवानीका साधनलाई फार्मभित्र लैजानुअघि अनिवार्य रूपमा निसङ्क्रमण गर्नुपर्ने नियम बनाइएको छ ।
कागलगायतका जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना र पानीको सम्पर्कमा आउन नदिने गरी थुनेर मात्र पाल्न आग्रह गरिएको छ । पन्छी र पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया