
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि वर्तमान सभापति रवि लामिछानेले पुनः आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
उनले आगामी नयाँ कार्यसमितिको केन्द्रीय सभापति पदका लागि निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उनको यो उम्मेदवारीसँगै पार्टीको सर्वोच्च नेतृत्वमा उनी सर्वसम्मत चयन हुने निश्चित भएको देखिन्छ।
पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा लामिछानेले सभापति पदमा उम्मेदवारी दिएका हुन्। यस उम्मेदवारीले पार्टीभित्रको आन्तरिक समीकरण र शीर्ष नेताहरूबीचको बलियो एकतालाई प्रस्ट पारेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेको जानकारी दिए। अन्य कुनै पनि नेताको दाबेदारी नपरेपछि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।









प्रतिक्रिया