
नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापारको अवस्था भयावह र परनिर्भर देखिएको हो।
विश्वका १५७ देशसँग व्यापार गरेकामा नेपालले केवल ३४ साना देशसँग मात्र नाफा कमाएको छ। बाँकी १२३ देशसँगको व्यापारमा भने नेपालले ठुलो घाटा बेहोर्नुपरेको भन्सार विभागले जनाएको छ।
आयात र निर्यातको अवस्था
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले कुल १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतको वृद्धि हो।
यस अवधिमा निर्याततर्फ पनि १२.२८ प्रतिशतको वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु बाहिरिएको छ। निर्यात बढे पनि आयातको तुलनामा यो अत्यन्तै न्यून देखिएको विभागले जनाएको छ ।
आयात-निर्यात अनुपात र हिस्सा
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत पुग्दा निर्यातको हिस्सा खुम्चिएर १२.८० प्रतिशतमा सीमित भएको छ। हाल नेपालको आयात–निर्यात अनुपात १ः६.८१ छ, अर्थात् नेपालले १ रुपैयाँको सामान निर्यात गर्दा झन्डै ७ रुपैयाँको सामान आयात गरिरहेको छ।
अघिल्लो वर्ष यो अनुपात ६.६४ रहेको थियो । स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको अत्यधिक आयातले घाटा न्यूनीकरणमा चुनौती थपेको छ।
पेट्रोलियम र सवारी साधनको आयात उच्च
नेपालमा सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा ३ खर्ब ४३ अर्ब ४३ करोड २४ लाख रुपैयाँ बाहिरिएको छ। यो कुल आयातको करिब १८.१ प्रतिशत हिस्सा भएको विभागले जनाएको छ ।
दोस्रो स्थानमा कच्चा वनस्पति घ्यू-तेल १ खर्ब ६२ अर्ब ३३ करोड ५ लाख रुपैयाँको आयात भएको छ। तेस्रोमा १ खर्ब ४० अर्ब ८ करोड ८६ लाख रुपैयाँको मेसिनरी तथा मेकानिकल पार्टपुर्जा रहेको तथ्याङ्कले देखाएको छ।
यसैगरी सवारी साधन र तिनका पार्टपुर्जा मात्रै १ खर्ब १२ अर्ब २२ करोड ५९ लाख रुपैयाँको भित्रिएको छ। शीर्ष १० आयातित वस्तुमा प्लास्टिक, सुनचाँदी, खाद्यान्न र रासायनिक मलसमेत समेटिएका छन्।
निर्यातमा प्रशोधित तेल र चिया–अलैँची अगाडि
नेपालबाट बाहिरिने वस्तुतर्फ प्रशोधित पशुजन्य तथा वनस्पतिजन्य घ्यू–तेल १ खर्ब ३१ अर्ब १० करोड ८० लाख रुपैयाँसहित पहिलो स्थानमा छ। कच्चा पदार्थ आयातमा धेरै रकम खर्चिने भएकाले यो व्यापारमा मात्रै नेपाल झन्डै ३१ अर्ब २२ करोड रुपैयाँ खुद घाटामा छ।
निर्यात सूचीको दोस्रो स्थानमा १७ अर्ब २९ करोड ११ लाख रुपैयाँसहित चिया, कफी, अलैँची र मसलाजन्य वस्तु छन्। तेस्रो स्थानमा रहेको सिन्थेटिक धागो १२ अर्ब ८६ करोड रुपैयाँ र चौथोको नेपाली गलैँचा १० अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ।
यसबाहेक पशुआहार, काठका सामान, तयारी पोशाक, तरकारी तथा फलफूलका परिकार, जुट र विशेष धागो शीर्ष १० निर्यात सूचीमा अटाएका छन्।
भारत र चीनसँगकै व्यापारमा ठुलो धक्का
नेपालको सबैभन्दा ठुलो व्यापार घाटा छिमेकी मुलुक भारतसँग ८ खर्ब ६३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ। भारतबाट १० खर्ब ९२ अर्ब २ करोड २४ लाख रुपैयाँको आयात हुँदा नेपालबाट २ खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपैयाँको मात्र निर्यात भएको छ।
दोस्रो ठुलो व्यापारिक साझेदार चीनसँग नेपालको व्यापार घाटा ३ खर्ब ८० |६५ करोड ५१ लाख रुपैयाँ छ। चीनबाट ३ खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपैयाँको आयात हुँदा निर्यात भने १ अर्ब ५९ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
३४ देशसँग सामान्य नाफा
नेपालले वैदेशिक व्यापार गर्ने देशहरूमध्ये डेनमार्कसँग सबैभन्दा बढी ७२ करोड ४१ लाख ३४ हजार रुपैयाँ व्यापार नाफा कमाएको छ। डेनमार्कमा नेपालबाट ९० करोड ६८ लाख ५३ हजार रुपैयाँको निर्यात हुँदा १८ करोड २७ लाख १९ हजार रुपैयाँको आयात भएको देखिन्छ।
डेनमार्कबाहेक अमेरिकन सामोआ, इराक, आइसल्यान्ड, नर्वे, मालदिभ्स जस्ता मुलुकहरूसँगको व्यापार पनि नेपालको पक्षमा छ। तर यी देशहरूमा हुने निर्यातको आकार सानो भएकाले समग्र व्यापार घाटा कम गर्न यसले खासै योगदान पुर्याउन नसकेको भन्सार विभागले जनाएको छ ।










प्रतिक्रिया