रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ । प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो ।

महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले शुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्नसक्ने बताए । उनकाअनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

व्यवस्थापकीय कमजोरी र चुनावी तयारी

Advertisement

उनले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै यसलाई सिकाइको रूपमा लिएको बताए । पार्टीभित्र सहमतिको प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ ।

हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको जानकारी दिइएको छ । चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूमा उत्साहजनक सहभागिता देखिएको झाले उल्लेख गरे ।

महामन्त्रीमा नेता झाको उम्मेदवारी

नेता झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पारेका छन् । शुरुमा केही द्विविधामा रहे पनि आफू अब मानसिक रूपमा तयार भएको उनको भनाइ छ ।

राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्ने भन्दै झाले पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशको अपेक्षा सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए । आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा योग्य ठानेरै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको उनले स्पष्ट पारे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री