
सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा विवादित व्यवसायी दीपक भट्टसहित विभिन्न व्यावसायिक समूहका प्रभावशाली व्यक्तिहरू तानिएपछि बैंकिङ क्षेत्रमा ठूलो तरंग आएको छ । उनीहरूसँग आबद्ध कम्पनीहरूको १ खर्ब रूपैयाँभन्दा बढीको कर्पोरेट ऋण तथा लगानी जोखिम अहिले उच्च निगरानीमा परेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले मुद्दामा मुछिएका प्रवर्द्धक, सञ्चालक तथा प्रमुख व्यवस्थापकीय अधिकारीहरू आबद्ध १८ कम्पनीको रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ । यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर नभए पनि भविष्यमा ठूलो संकट आउन सक्ने संकेत गरेको छ ।
निगरानीमा राखिएका कम्पनीहरूमा अधिकांश उत्पादन, व्यापार, सेवा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ठूला व्यावसायिक घराना रहेका छन् । इन्फोमेरिक्सले कम्पनीहरूको व्यवसाय सञ्चालन, वित्तीय अवस्था, संस्थागत सुशासन तथा व्यवस्थापन निरन्तरतामा कानुनी प्रक्रियाले पार्न सक्ने प्रभावलाई आधार बनाएर यो कदम चालेको हो ।
सरकारले हालै धितोपत्रसम्बन्धी कसुरमा ८१ जना, बीमासम्बन्धी कसुरमा ४२ जना, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ३९ जना तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा ५ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ । तीमध्ये केही व्यक्ति सार्वजनिक कम्पनी र ठूला निजी व्यावसायिक समूहका प्रमुख पदमा कार्यरत रहेका छन् ।
कानुनी प्रक्रिया लम्बिँदा कम्पनीको निर्णय प्रक्रिया, वित्तीय स्रोत परिचालन, बैंक तथा लगानीकर्ताको विश्वास र बजार प्रतिष्ठामा गम्भीर असर पर्न सक्ने देखिएको छ । यही कारणले गर्दा रेटिङ एजेन्सीले ती कम्पनीहरूलाई विशेष निगरानीमा राख्नुपरेको बताएको छ ।
इन्फोमेरिक्सले कम्पनीहरू दोषी प्रमाणित भइसकेका नभई कानुनी अनिश्चितताका कारण सम्भावित जोखिमको मूल्यांकन गर्न मात्र यो रेटिङ दिइएको स्पष्ट पारेको छ । अदालतको अन्तिम फैसला, व्यवस्थापनमा हुने सम्भावित परिवर्तन तथा कम्पनीहरूको वित्तीय प्रदर्शनका आधारमा आगामी दिनमा रेटिङबारे थप निर्णय गरिने उसले जनाएको छ ।
ठूला व्यावसायिक समूहसँग आबद्ध कम्पनीहरू निगरानीमा परेपछि बैंक, वित्तीय संस्था, लगानीकर्ता तथा ऋणदाताहरूले ती कम्पनीहरूको जोखिम प्रोफाइललाई थप नजिकबाट मूल्यांकन गर्न थालेका छन् ।









प्रतिक्रिया