
स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा र विपन्न नागरिक औषधि उपचार कार्यक्रमको बाँकी दायित्व भुक्तानीलाई प्राथमिकता दिँदै यो रकम निकासामा सहजीकरण गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठ दोस्रो साता स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।
त्यस्तै जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार र सोही महिनाको २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको विवरण उनले दिए ।
सरकारले गत मङ्सिरसम्मको बिमा दाबीमध्ये भुक्तानी दिन बाँकी ७ अर्ब रुपैयाँ र पुसदेखि असारसम्मको साढे १४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।
विगतका वर्षदेखि बाँकी रहेको बिमा दाबी तथा विपन्न नागरिकको उपचार रकम भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको सहप्रवक्ता अधिकारीले बताए ।










प्रतिक्रिया