भीरबाट टेम्पो खसालिएको घटनामा १२ जना पक्राउ

कैलालीको गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको आरोपमा वन कार्यालयका १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले टेम्पो भीरमा खसालिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई समातेको हो ।

यो घटना शनिबार गोदावरी–४ को गाईमारे क्षेत्रमा घटेको थियो । बासपानीकी ४४ वर्षीया धनादेवी धामीले घर नजिकै भीमदत्त राजमार्गको सडक छेउमा टेम्पोमा सामान राखेर व्यापार गर्दै आएकी थिइन् ।

Advertisement

चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले धामीको सो टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूसम्मले वन कर्मचारीहरूको अमानवीय व्यवहारको कडा आलोचना गरेका थिए ।

चौतर्फी विरोध भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धानका लागि कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो । सोधपुछका लागि डिभिजन वन कार्यालय कैलाली र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई बोलाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वन कार्यालयले भने सो टेम्पो राजमार्ग क्षेत्र अतिक्रमण गरेर राखिएको र पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि हटाइएको जनाएको छ । कर्मचारीहरूले जानाजान वा नियोजित रूपमा टेम्पोलाई भीरबाट नखसालेको भन्दै वन कार्यालयले बचाउ गरेको छ ।

यता टेम्पो धनी धामीले भने वन कर्मचारीहरूले आफ्नो जीविकोपार्जनको माध्यम बलपूर्वक नष्ट गरिदिएको आरोप लगाएकी छन् । उनले कानुनी प्रक्रिया पूरा नगरी आफ्नो सम्पत्तिमा क्षति पुर्‍याइएको भन्दै न्यायको माग गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री