गिरिबन्धु टी–स्टेटसहितका फाइल खोल्न एमालेको चुनौती

नेकपा एमालेले विवादित भनिएका सबै पुराना प्रकरणको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता पद्मा अर्यालले गिरिबन्धु टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न माग गरिन्।

Advertisement

बजेट छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै फाइल खोल्ने धम्की दिएको भन्दै अर्यालले आपत्ति जनाइन्। उनले ओम्नी र वाइडबडी जस्ता प्रतिपक्षसँग जोडिएका सबै प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरिन्।

छानबिनबाट आरोपहरू पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिनुपर्ने अर्यालले बताइन्। सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा धम्क्याउने शैली अपनाउनु खेदजनक रहेको उनको भनाइ थियो।

Advertisement

अर्यालले मान्छेको स्वाभिमानमा आँच आउने गरी गम्भीर आरोप लगाउनेहरू कठघरामा उभिन तयार छन् कि छैनन् भनी प्रश्न गरिन्। सत्य कुरा के हो भन्ने तथ्य बाहिर ल्याउन उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

एमाले उपनेता अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको समेत कडा आलोचना गरिन्। परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भनी दिएको अभिव्यक्तिले नेपालको राष्ट्रवादी अडानलाई कमजोर बनाएको उनले आरोप लगाइन्।

यो अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको दाबीलाई संशयमा पारेको अर्यालले उल्लेख गरिन्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका अभिव्यक्तिहरू बाझिएको भन्दै उनले सीमा रक्षा गरिरहेका नेपालीको भावनामा चोट पुगेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री