
ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा एक दुःखद दुर्घटना भएको छ । बन्जी जम्पिङ गराउने कर्मचारीको गम्भीर लापरवाहीका कारण २१ वर्षीया एक युवतीको मृत्यु भएको हो ।
सञ्चारमाध्यमका अनुसार कर्मचारीहरूले ती युवतीलाई सुरक्षा डोरी नै नबाँधी पुलबाट फाल हाल्न लगाएका थिए । सुरक्षा उपकरण बिना नै हाम फाल्दा उनी १३० फिटभन्दा बढी गहिरो खोँचमा खसेकी थिइन् ।
मृतक युवतीको पहिचान मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको रूपमा भएको छ । उनी एक निजी कम्पनीद्वारा आयोजित बन्जी जम्पिङ गतिविधिमा सहभागी हुन त्यहाँको ‘स्केलेटन ब्रिज’ पुगेकी थिइन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा कर्मचारीहरूले ती युवतीलाई पुलको किनारमा लगेर तल खसालेको देखिन्छ । उनी खस्न थालेपछि मात्र त्यहाँ उपस्थित मानिसहरूले सुरक्षा डोरी नबाँधिएको थाहा पाएर चिच्याएका थिए ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि घटनास्थलबाट ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।
दुर्घटना हुनुभन्दा केही समयअघि मारियाले सामाजिक सञ्जालमा पुल र जम्पिङ रिस्टब्यान्डको तस्बिर पोस्ट गरेकी थिइन् । तस्बिरको क्याप्सनमा उनले ठट्टा गर्दै कुन पागलले आफूलाई पुलबाट हाम फाल्न आउन दियो भनी लेखेकी थिइन् ।
दुर्घटनाका समयमा मारियाका हुनेवाला पति पनि त्यहीँ उपस्थित रहेका थिए । युवतीको मृत्युको खबर सुनेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएकाले उपचार गरिएको जनाइएको छ ।एजेन्सी










प्रतिक्रिया