
सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने कार्य सम्पन्न भएको छ। पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मार्फत यस वर्ष ३१ वटा हिमाल आरोहणका लागि ५६ देशका १ हजार १ सय ९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए।
अनुमति लिनेहरूमध्ये सबैभन्दा धेरै चीनका १ सय ५९ र अमेरिकाका १ सय ५२ जना रहेका छन्। यसैगरी भारतका १ सय १, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७० र नेपालका ४४ जनाले आरोहणको अनुमति लिएका थिए।
कुल आरोहीमध्ये ४ सय ९५ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए, जसमा ३ सय ९० पुरुष र १ सय ५५ महिला थिए। अनुमति लिएका आरोहीबाहेक उनीहरूका सहयोगी तथा गाइड गरी करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले जानकारी दिए।
यस सिजनमा सोलुखुम्बुका कामिरीता शेर्पाले ३२औँ पटक तथा सङ्खुवासभाकी लाक्पा शेर्पाले ११ पटक सगरमाथाको चुचुरोमा पुगेर आ-आफ्नो अघिल्लो विश्व कीर्तिमान तोडेका छन्। सगरमाथा आरोहणका क्रममा पनि सबैभन्दा बढी छिमेकी मुलुक चीनका १ सय ९ जना आरोही चुचुरोमा पुग्न सफल भए।
हिमाल आरोहणको अनुमति दिएबापत सरकारले यो वर्ष ठुलो परिमाणमा राजस्व सङ्कलन गर्न सफल भएको छ। वसन्त ऋतुका विभिन्न हिमालबाट सरकारलाई कुल १ अरब २६ करोड ४७ लाख ४१ हजार ३ सय ६ रुपैयाँ राजस्व प्राप्त भएको छ।
जसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहण अनुमतिबाट मात्रै १ अरब ८ करोड १० लाख ७ सय २५ रुपैयाँ राजस्व संकलन भयो। यसबाहेक लोत्सेबाट ६ करोड ६८ लाख, मकालुबाट ३ करोड १७ लाख र आमादब्लमबाट १ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।








प्रतिक्रिया