सेयर बजारमा गिरावट: नेप्से ११ अंकले घट्दा वित्त उपसमूहमा हरियाली

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। बिहीबार घटेर बन्द भएको नेप्सेले शुक्रबार पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

परिसूचक ११ दशमलव ३७ अंकले घटेर २ हजार ७ सय ५५ दशमलव ४१ विन्दुमा झरेको छ। नेप्से परिसूचक ओरालो लागे पनि बजारमा कारोबार रकममा भने वृद्धि देखिएको छ।

Advertisement

बिहीबार ४ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा शुक्रबार कारोबार रकम बढेर ५ अर्ब ६२ करोड नाघेको छ। दिनभरिमा ३ सय ५१ स्टकको ५५ हजार ४ सय ६७ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यसदिन कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य ९८ रुपैयाँ ८० पैसाले बढेर अन्तिम कारोबार ७ सय ५७ रुपैयाँ ६० पैसामा भएको छ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। बजारमा मूल्य घट्ने स्टकहरूको गिरावटदर भने साढे ४ प्रतिशतभन्दा कम नै सीमित रह्यो।

Advertisement

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको ५५ करोड ६९ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै सिटिसि होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा १० दशमलव २५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ। कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ। त्यसबाहेक होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा भने सामान्य अंकको सुधार देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री