बिहीबार, १३ वैशाख २०८१

ललितपुरमा १५ र ३१ गते छुटेका वालबालिकालाई विशेष खोप लगाइने

समयपोष्ट २०८० वैशाख १३ गते १८:३१

Advertisement

ललितपुर जिल्लामा खोप लगाउन छुटेका वालबालिकालाई दुई दिन विशेष खोप कार्यक्रम हुने भएको छ।

बुधबार स्वास्थ्य कार्यालय ललितपुरमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले आगामी बैशाख १५ र ३१ गते खोप लगाउन छुटेका ५ वर्षमुनिका वालबालिकालाई खोप सञ्चालन गर्ने निर्णय गरेको हो।
खोप कार्यक्रम ६ वटै पालिकाका ७१ वटै वडा र केही सार्वजनिक स्थानको खोप केन्द्रबाट हुने पूर्ण खोप समन्वय समितिका सदस्यसचिव डा. अर्जुन सापकोटाले जानकारी दिए। उनी स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख हुन्।

यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै वालबालिकालाई दुईदिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
‘खोप लगाउनबाट वालबालिका छुटे विभिन्न रोग फेरि फर्कन सक्छ, त्यही भएर प्रचार–प्रसार गर्ने, वडालाई चनाखो बनाउने गर्नुपर्छ,’ सिडिओ आचार्यले भने ।
विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुईदिन नै विशेष बुथ राख्ने भएको छ।

यस्तै बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोष्टर, व्यानर सवारी साधनमा राखेर प्रचार गर्ने र पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढंगले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णय गरेको सदस्य सचिव डा. सापकोटाले बताए।

‘विगतमा खोप लगाउन छुटेका सबै वालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ,’ डा. सापकोटाले भने, ‘नयाँ ढंगले कार्यक्रम गर्छाैँ।’
२०७४ बैशाख १४ गते ललितपुर जिल्ला पूर्ण खोप लगाएको जिल्ला घोषणा भएको स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए।
यसपटक जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगाययत सबै तहका व्यक्तिहरुको साथ लिने उनले बताए।
पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैत्रभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको उनको भनाई थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री