शुक्रबार, १३ असार २०८२

प्रत्यारोपणका ‘पिल्लर’

समयपोष्ट २०८२ असार १३ गते १३:२०

Advertisement

अङ्ग प्रत्यारोपण क्षेत्रमा लामो अनुभव र उत्कृष्ट सफलता हासिल गरेका डा. पुकार चन्द्र श्रेष्ठले नेपालमा यो क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । उहाँले हालसम्म झण्डै एक हजार छ सय मिर्गौला प्रत्यारोपण (९९ प्रतिशत सफलता दर) र ३३ कलेजो प्रत्यारोपण (९३ प्रतिशत सफलता दर) सफलतापूर्वक सम्पन्न गर्नुभएको छ, जुन नेपालको सन्दर्भमा सबैभन्दा धेरै हो । डा. श्रेष्ठ नेपालमा कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका अङ्गदाताबाट अङ्ग प्रत्यारोपण सुरु गर्ने पहिलो शल्यचिकित्सक हुनुहुन्छ । उहाँले नेपालमै पहिलोपटक मस्तिष्क मृत्यु भएको अङ्गदाताबाट एकै व्यक्तिमा कलेजो र मिर्गौला दुवै प्रत्यारोपण गरी महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ । उहाँको नेतृत्व र दक्षताले छोटो समयमै नेपालको आधुनिक अङ्ग प्रत्यारोपण सेवाको जग बसाउन सम्भव भएको छ । प्रस्तुत छ, यसै सन्दर्भमा समयबोध म्यागेजिनले डा. पुकारसँग गरेको कुराकानीः

तपाईंको प्रारम्भिक जीवन र शिक्षा यात्रा कस्तो रह्यो र चिकित्सा क्षेत्रमा प्रवेश गर्ने प्रेरणा के थियो ?

मेरो जन्म बागलुङ जिल्लामा भएको हो । मैले प्रारम्भिक शिक्षा बागलुङको विद्यामन्दिर विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आईएस्सी अध्ययन गरेको थिएँ । त्यसपछि बङ्गलादेशको राजशाही मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेको हुँ । पीजीएमईसीसी र चिकित्साशास्त्र अध्ययन संस्थानबाट सर्जरी विषयमा स्नातोकोत्तर गरेको हुँ । मेरी आमा बागलुङमा हुँदा बिरामी भएर चार महिना थला पर्दा चिकित्सकको अभावमा काठमाडौं ल्याएर उपचार गरेको घटना र मेरो बुबा न्यायाधीश भए पनि छोरालाई चिकित्सक बनाउन रुचि भएको हुँदा ममा चिकित्सक बन्ने भावना जागेको थियो । चिकित्सा अध्ययनको क्रममा मैले सर्जरीमा विशेष रुचि देखाएँ । सर्जरीमा तत्काल नतिजा देखिनु, रोगीको जीवनमा छिट्टै सुधार आउनु आदि पक्षहरुले मलाई विशेष रूपले आकर्षित गर्यो । सन् २००० मा बुटवलमा कार्यरत रहँदा नेपालमा प्रत्यारोपण नभएकाले धेरै युवाहरु मिर्गौला र कलेजो फेल भएर आफ्नै आँखाअगाडि ज्यान गुमाएको देखेँ । तसर्थ, प्रत्यारोपण क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो र मैले बेलायतमा मिर्गौला, कलेजो र प्याङ्क्रियाज प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिन गएँ । त्यसबाट मलाई नेपालमा विश्वस्तरको अङ्ग प्रत्यारोपण सुरु गर्न मद्दत पुर्यायो । विशेषतः विदेश जान नसक्ने बिरामीहरुलाई स्वदेशमै जीवनरक्षक सेवा उपलब्ध गराउने लक्ष्यले गर्दा म नेपाल फर्किएँ र अङ्ग प्रत्यारोपण सेवा आरम्भ गर्ने अभियानमा सक्रिय भएँ ।

 मेरी आमा बागलुङमा हुँदा बिरामी भएर चार महिना थला पर्दा चिकित्सकको अभावमा काठमाडौं ल्याएर उपचार गरेको घटना र मेरो बुबा न्यायाधीश भए पनि छोरालाई चिकित्सक बनाउन रुचि भएको हुँदा ममा चिकित्सक बन्ने भावना जागेको थियो ।

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना र यसको उद्देश्यबारे बताउनुहोस् न । यो केन्द्रले कस्ता सेवाहरु प्रदान गर्छ ?

वि.सं. २०६८ सालको फागुनमा भक्तपुरको दूधपाटीमा स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको उद्देश्य अङ्ग प्रत्यारोपण सेवा सबै नागरिकको पहुँचभित्र पुर्याउनु हो । नेपाल सरकारको एक प्रमुख केन्द्र, जसले मिर्गौला, कलेजोजस्ता संवेदनशील अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउनु, अङ्ग दान र अङ्ग प्रत्यारोपणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुको तालिम र क्षमता अभिवृद्धि गर्नु, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आदि उद्देश्य लिएको छ । केन्द्रले हाल मिर्गौला र कलेजो प्रत्यारोपण, डायलाइसिस सेवा, अन्य विशिष्ट शल्यक्रिया, बहिरङ्ग सेवा (ओपीडी), प्याथोलोजी सेवा, सीटी स्क्यान तथा रेडियोलोजी, क्याथ–ल्याब सेवालगायतका विविध स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यहाँ नेफ्रोलोजी, युरोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, एनस्थेसियोलोजी, कार्डियोलोजी, हेपाटोलोजी, गाइनो, मानसिक रोग, प्रत्यारोपणसम्बन्धी परामर्श, नाक, कान, घाँटी र दन्त चिकित्सासम्बन्धी सेवा सञ्चालनमा छन् । मस्तिष्क मृत्युपछि अङ्ग दानजस्ता संवेदनशील प्रक्रिया पनि यो केन्द्रमार्फत सुचारु भइरहेको छ । स्थापनाको १३ वर्ष नपुग्दै अङ्ग प्रत्यारोपणको क्षेत्रमा यो केन्द्र आज नेपालको मात्र नभई दक्षिण एशियाली सन्दर्भमा पनि एक उदाहरणीय संस्थाको रूपमा स्थापित भएको छ ।

हालसम्म मैले विदेशबाट फर्केर एक हजार छ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण र तेत्तीस जनाको कलेजो प्रत्यारोपण गरिसकेको छु । मलाई स्वदेश फर्केर देशको सेवा गर्न पाएकोमा कहिल्यै पछुतो महसुस भएको छैन ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र कसरी स्थापना भयो । यसमा यहाँको भूमिका कस्तो रह्यो ?

सन् २००८ मा नेपालका दुई वटा सरकारी अस्पताल वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात भयो । अत्यन्तै धिमा गतिमा मिर्गौलाा प्रत्यारोपण भए तापनि वीर अस्पतालमा चार वर्षमा ९९ जनाको मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न भएको थियो ।

देशमा करिब तीन हजार जनाको मिर्गौला फेल हुने गर्दछ र एक हजार जनाको कलेजो फेल हुने अनुमान गरिएकोे छ । तसर्थ, वीर अस्पतालको मिर्गौला प्रत्यारोपणको सफलतालाई मध्यनजर गरी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, राजेन्द्र महतो तथा स्वास्थ्य सचिव प्रवीण मिश्रज्यूले प्रत्यारोपणका लागि छुट्टै संस्था खोल्ने योजना बुन्नुभयो ।

२०६८ सालको हिउँदको कुरा हो, तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र स्वास्थ्य सचिव प्रवीण मिश्रज्यूले मलार्ई लिएर भक्तपुर अस्पतालको प्राङ्गणमा पाँच वर्षदेखि खाली रहेको भवन देखाउन एउटा शनिबार लिएर जानुभयो । के यो भवनमा प्रत्यारोपण सेवा सञ्चालन गर्न सम्भव छ भनेर सोध्नुभयो । स्तरीय प्रत्यारोपण सेवा सबैको पहुँचभित्र ल्याउने सपना बोकेर बेलायतबाट फर्केको मलाई उक्त भवन देखेपछि त्यसमा प्रत्यारोपण नहुने कुरै छैन भनेर आत्मविश्वास प्रकट गरेँ । नेपाल सरकारले तत्कालै मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने निधो गर्यो ।

डा. विजयकुमार शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेर उक्त योजनाको खाका बनाउने कार्य अगाडि बढ्यो । उक्त समितिमा डा. बी डी झा, डा. राजेन्द्रकुमार अग्रवाल, डा. कल्पनाकुमारी श्रेष्ठ तथा म स्वयम्लाई सदस्य–सचिव बनाइयो भने स्वास्थ्य मन्त्रालयबाट जगन्नाथजी र लिलानाथ पौडेलले प्रतिनिधित्व गर्नुभयो । समितिले प्रतिवेदन बुझाउनेबित्तिकै मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापनाको लागि मलाई फोकल पर्सन तोकियो र कार्य अगाडि बढाउनको लागि जिम्मेवारी दिइयो । म र डा. कल्पनाकुमारी श्रेष्ठको संयुक्त प्रयासमा २०६८ साल फागुन ७ गते नै भुईँ तल्लाको एउटा कोठामा भक्तपुर अस्पतालसँग चार वटा कुर्सी र एउटा टेबल मागेर ओपीडी सेवा सञ्चालन गरियो । स्वास्थ्य मन्त्रालयका सबै महाशाखाहरु, कानून मान्त्रालय, अर्थ मन्त्रालय र मन्त्रिपरिषद् हुँदै करिब तीन महिनाभित्रै मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६९ वैशाख ११ गते नेपाल सरकारबाट अनुमोदन भयो र डा. पुकारचन्द्र श्रेष्ठलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक तोकियो । तत्कालै २० वटा डाइलाइसिस मेसिन, केही अपरेसन थिएटर र आईसीयु पोस्टअपलगायतको औजार उपकरण खरिद गरेर अस्पतालको सेवा सुरुवात भयो ।

हालसम्म केन्द्रले १,४३५ भन्दा बढी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ र ३४ जनाको कलेजो प्रत्यारोपण ९३ प्रतिशत सफलताका साथ सम्पन्न गरिसकेको छ ।

डाइलाइसिस मेसिन खरिद गर्दा प्रतिस्पर्धी कम्पनीहरुले अख्तियारमा उजुरी गरेर टेण्डर प्रक्रिया बिथोल्ने प्रयास गरेको मात्र होइन, केन्द्रलाई गर्भमै तुहाउने कोसिस पनि भएको थियो । त्यसका बाबजुद पनि डाइलाइसिस मेसिन खरिद गरी तत्काल सेवा सञ्चालन गरियो । यसरी गठन आदेशबाट स्थापना भएको तीन महिनाभित्रै डाइलाइसिस सेवा सञ्चालनमा आयो भने छ महिनामै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवाको शुभारम्भ गरियो । तत्पश्चात् केन्द्रले कहिल्यै पछाडि फर्कन परेन । दिन दुई गुणा रात चौ गुणा गर्दै डाइलाइसिस सेवा र मिर्गौला प्रत्यारोपण सेवाले उच्च दरमा गति लिँदै गयो । यस मानव अङ्ग प्रत्यारोपण केन्द्र देशको सबैभन्दा धेरै डाइलाइसिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने संस्थाको रुपमा स्थापित भयो । अधिकतम सङ्ख्यामा र अधिकतम सफलताका साथ प्रत्यारोपण सेवा दिन सक्षम भएको हुँदा देश तथा विदेशबाट बिरामीहरुको ओइरो लाग्न थाल्यो ।

नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण र अन्य अङ्ग प्रत्यारोपणको वर्तमान अवस्था कस्तो छ ? केन्द्रले कति प्रत्यारोपणहरु सम्पन्न गरेको छ ?

पछिल्ला वर्षहरुमा नेपालमा अङ्ग प्रत्यारोपणको अवस्था उल्लेखनीय रूपमा सुधार भएको छ । यस प्रगतिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (SDNTC) को प्रमुख योगदान रहँदै आएको छ । यस केन्द्रले देशभर हुने कुल प्रत्यारोपणमध्ये झन्डै दुई तिहाइ प्रत्यारोपण आफैँ सम्पन्न गर्ने गरेको छ । हालसम्म केन्द्रले १,४३५ भन्दा बढी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ र ३४ जनाको कलेजो प्रत्यारोपण ९३ प्रतिशत सफलताका साथ सम्पन्न गरिसकेको छ । देशभर ६ सरकारी र ६ निजी संस्थामा प्रत्यारोपण भइरहेको अवस्था छ र अधिकांश संस्थामा यस केन्द्रबाट तालिमप्राप्त जनशक्तिबाट सम्भव भएको छ । ५५ जोडीको आपसी साटासाटबाट मृगौला प्रत्यारोपण भइसकेको छ भने ६ जना मस्तिष्क मृत व्यक्तिबाट १२ जनाको मृगौला र ४ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

प्रत्यारोपण शल्यक्रियामा नेपालले कस्ता चुनौतीहरुको सामना गर्नुपरेको छ ? यी चुनौतीहरु समाधान गर्न केन्द्रले के–कस्ता प्रयास गरिरहेको छ ?

नेपालले प्रत्यारोपणको क्षेत्रमा पछिल्ला वर्षहरुमा महत्वपूर्ण प्रगति हासिल गरे पनि यस क्षेत्रमा अझै थुप्रै चुनौतीहरु विद्यमान छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यी चुनौतीहरुको सामना गर्न निरन्तर प्रयास गरिरहेको छ । सबैभन्दा ठूलो चुनौती अङ्गको अभाव हो । नेपालमा स्वेच्छिक अङ्ग दान गर्नेहरुको सङ्ख्या अत्यन्तै न्यून छ । यद्यपि, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अङ्ग निकाल्ने (cadaveric donation) प्रक्रिया कानुनी रूपमा सम्भव छ, सांस्कृतिक र धार्मिक मान्यताहरुका कारण यस्तो अङ्ग दानप्रति जनसहभागिता न्यून देखिन्छ । अर्को चुनौती चिकित्सा पूर्वाधार र उपकरणको कमी हो । अत्याधुनिक शल्यक्रिया उपकरण, आईसीयू सेवा र प्रत्यारोपणपछि आवश्यक हुने उपचार (post–transplant care) अझै सबै क्षेत्रमा उपलब्ध छैन । यससँगै विशेषज्ञ जनशक्तिको अभाव पनि गम्भीर चुनौती बनेको छ । नेपालमा प्रत्यारोपण शल्य चिकित्सक, नेफ्रोलोजिस्ट, हेपाटोलोजिस्ट र एनेस्थेसियोलोजिस्टजस्ता विशेषज्ञहरुको सङ्ख्या सीमित छ । साथै, दक्ष जनशक्ति प्रायः निजी अस्पतालतर्फ वा विदेशतर्फ पलायन हुने देखिन्छ । स्रोत र बजेटको अभाव पनि ठूलो चुनौती हो । सरकारले मिर्गौला प्रत्यारोपणमा निःशुल्क गरे पनि कलेजो प्रत्यारोपणका लागि लाग्ने महँगा औषधि, शल्यक्रिया खर्च र दीर्घकालीन फलोअप सेवाहरु सर्वसाधारणको पहुँचबाहिर छन् । नीतिगत जटिलता पनि प्रत्यारोपण क्षेत्रको विकासमा बाधक बनेको छ । यद्यपि, ‘मानव अङ्ग प्रत्यारोपण ऐन’ विश्वमै उदार बनाइएको छ तर व्यवहारतः यसको कार्यान्वयनमा अझै कठिनाइ देखिन्छन् । यी चुनौतीहरु समाधान गर्न दीर्घकालीन नीति, अन्तरसंस्थागत सहकार्य, जनचेतना अभिवृद्धि र सरकारी प्रतिबद्धता आवश्यक छ ।

नवीन प्रयासको निरन्तरतास्वरूप नेपालको चिकित्सकीय इतिहासमा २०८२ सालको जेठ १ गते मेरो नेतृत्वमै मस्तिष्क मृत अङ्गदाताबाट प्राप्त मिर्गौला र कलेजो एउटै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ, जुन नेपालको स्वास्थ्य सेवामै एक महत्वपूर्ण उपलब्धि हो ।

तपाईंको नेतृत्वमा केन्द्रले कस्ता नवीन प्रविधि वा प्रक्रियाहरु अपनाएको छ ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले थुप्रै नवीन प्रविधि र अग्रगामी प्रक्रियाहरु अपनाएर अङ्ग प्रत्यारोपण सेवामा ऐतिहासिक प्रगति गरेको छ । केन्द्र स्थापना भएदेखि नै चरणबद्ध रूपमा नयाँ सेवाहरु सुरु गरिँदै आएको छ । वि.सं. २०६९ मा डाइलाइसिस सेवा सुरु भएपछि मिर्गौला प्रत्यारोपण र ल्याप्रोस्कोपिक विधिबाट मिर्गौलादाताको शल्यक्रिया, निःशुल्क डाइलाइसिस सेवा र देशकै पहिलो आपसी साटासाट (Pair Exchange) गरेर मिर्गौला प्रत्यारोपणसमेत यही केन्द्रमार्फत सफलतापूर्वक सञ्चालन गरिएको हो । मेरै नेतृत्वमा सन् २०१६ (वि.सं. २०७३ मङ्सिर २२) मा दक्षिण कोरियाली विज्ञको सहयोगमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको थियो, जसले नेपाललाई अङ्ग प्रत्यारोपणको नयाँ युगमा प्रवेश गरायो । त्यसपछि वि.सं. २०७४ मा पहिलो निःशुल्क मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला प्रत्यारोपण पनि यही केन्द्रमा सम्पन्न गरियो । मेरै नेतृत्वमा वि.सं. २०७५ मा नेपाली चिकित्सकहरुबाट मस्तिष्क मृत्युबाट प्राप्त देशको पहिलो कलेजोको पनि प्रत्यारोपण गरिएको हो । नवीन प्रयासको निरन्तरतास्वरूप नेपालको चिकित्सकीय इतिहासमा २०८२ सालको जेठ १ गते मेरो नेतृत्वमै मस्तिष्क मृत अङ्गदाताबाट प्राप्त मिर्गौला र कलेजो एउटै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ, जुन नेपालको स्वास्थ्य सेवामै एक महत्वपूर्ण उपलब्धि हो ।

त्यस्तै, चिकित्सकहरुका लागि एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रम सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादनमा पनि केन्द्रले पहलकदमी लिएको छ, जसबाट सात वटा प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा प्रदान गर्न मद्दत पुग्नेछ । यस्ता अग्रगामी पहलहरुले केन्द्रलाई दक्षिण एसियाको उत्कृष्ट अङ्ग प्रत्यारोपण केन्द्रमध्ये एक बनाएको छ ।

मेरो नेतृत्वमा भएका मुख्य–मुख्य उपलब्धिहरु

-स्थापना २०६८ फागुन

-डायलाइसिस सेवा आरम्भ-२०६९ कात्तिक २७

-मिर्गौला प्रत्यारोपण आरम्भ- २०६९ माघ ६
-निःशुल्क डायलासिस सेवा आरम्भ-२०६९ चैत १६
-मानव अङ्ग प्रत्यारोपण ऐन-२०७२ फागुन १३
-देशकै पहिलो पियर एक्सचेन्ज मिर्गौला प्रत्यारोपण – २०७३ साउन १२
-कार्डियाक सर्जरी-२०७३ मङ्सिर २
मानव

-शरीरको अङ्ग प्रत्यारोपण नियमावली -२०७३ मङ्सिर १६
-देशकै पहिलो कलेजो प्रत्यारोपण -२०७३ मङ्सिर २२
-देशकै पहिलो निःशुल्क मिर्गौला प्रत्यारोपण -२०७४ वैशाख २
-देशकै पहिलो मस्तिष्क मृत्यु भएकोबाट मिर्गौला प्रत्यारोपण -२०७४ वैशाख २८
-देशकै पहिलो मस्तिष्क मृत्यु भएकोबाट कलेजो प्रत्यारोपण -२०७५ कात्तिक १२
-एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रम सञ्चालन -२०८१ फागुन २८
-मस्तिष्क मृत अङ्गदाताबाट प्राप्त मिर्गौला/कलेजो देशमै पहिलो पटक एकै व्यक्तिमा सफल प्रत्यारोपण-२०८२ जेठ १

प्रत्यारोपण कानुन संशोधनमा यहाँको भूमिका बाताइदिनुहोस् न ?

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन २०५५ सालमै बनेको थियो तर त्यसमा धेरै सीमितता थिए । प्रत्यारोपण सेवा सञ्चालन गर्दै जाँदा कानुनी प्रावधान संशोधनको खाँचो झन् बढेको महसुस गर्दै गयौँ । मुख्यतः मिर्गौला प्रत्यारोपणमा अङ्गदाताको दायरा अत्यन्तै साँघुरो थियो । जम्मा १०/१२ जना नातेदारले मात्रै अङ्ग दान गर्न पाउँथे । कानुनबमोजिमको नाताबाट मिर्गौला पाउन सकिएन भन्ने गुनासो बिरामीबाट धेरै आइरहेको थियो ।

अन्य मुलुकले अभ्यास गरिरहेको ‘पियर एक्सचेन्ज’को व्यवस्था नेपालमा थिएन । त्यो भनेको कुनै परिवारमा एक सदस्यले अर्को सदस्यलाई मिर्गौला दिन खोज्दा ‘म्याचिङ’ भएन भने त्यस्तै समस्या भएको अर्को परिवारसँग लिन–दिन सकिने प्रावधान हो । यसले दाता नपाउने समस्यालाई केही हदसम्म टार्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको व्यक्तिबाट अङ्ग निकालेर प्रत्यारोपण गर्नु हो । नेपालमा सडक दुर्घटनाबाट धेरैको मस्तिष्क मृत्यु हुने गर्दछ । म बेलायतबाट फर्केदेखि नै ब्रेन डेथ व्यक्तिको अङ्ग दानका विषयमा निरन्तर वकालत गरिरहेको थिएँ । विदेशबाट विज्ञ बोलाएर पनि कार्यशाला गोष्ठी गर्दै आएको थिएँ । त्यत्तिकै खेर जाने अङ्ग अर्को कुनै व्यक्तिको ज्यान बचाउन उपयोग होस् भन्नेमा मेरो जोड हुन्थ्यो । तर, त्यस्तो अङ्ग दान र प्रत्यारोपणका लागि कामलाग्दो कानुनी व्यवस्था थिएन ।

मैले कानुन संशोधनको आवश्यकताका विषयमा स्वास्थ्यमन्त्री र सचिवसँग कुरा राखेँ । उहाँहरुकै पहलकदमीमा प्रस्ताव मन्त्रिपरिषद्मा पुग्यो र ऐन संशोधन विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति मिल्यो । त्यसपछि स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले अब मस्यौदा समिति बनाएर काम अघि बढाउने जानकारी दिँदै त्यसमा मुख्य भूमिका निर्वाह गर्न मलाई भन्नुभयो । अहोरात्र खटिएर बनाएको विधेयक संसद्मा करिब दुई वर्ष रुमल्लियो । यसबीचमा म विभिन्न छलफल, अन्तक्र्रिया र प्रशासनिक कामका लागि करिब ५० पटकजति संसद् भवन धाएँ होला । कतिपय सांसदलाई त घरमै पनि गएर भेटेँ, जसको फलस्वरुप व्यवस्थापिका–संसदभित्रका प्रक्रियागत चरण पार गरेर विधेयकले बल्ल २०७२ माघमा ऐनको रूप लियो । यसले ५२ नाताभित्रबाट अङ्ग दान गर्ने बाटो खुलायो । समाजका सबै पक्षहरु जस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन मन्त्रालय, सङ्घीय संसद्, चिकित्साकर्मी, पत्रकार, कलाकार समाजसेवी तथा राजनीतिक क्षेत्र विशेषगरी तत्कालीन मन्त्री गगन थापाले नेपालको प्रत्यारोपण विकासमा खेल्नुभएको भूमिका अविस्मरणीय छ ।

नेपालमा अङ्ग दानको अवधारणालाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? यसमा जनचेतनाको भूमिका कति महत्वपूर्ण छ ?

नेपालमा अङ्ग दानको अवधारणालाई प्रोत्साहन गर्न दीर्घकालीन जनचेतनामूलक कार्यक्रम, शिक्षा र नीतिगत पहलहरु अत्यन्त आवश्यक छन् । हाल अङ्ग दान विशेषतः मस्तिष्क मृत्युपछि अङ्ग दान ९brain death organ donation०, सामाजिक, सांस्कृतिक र धार्मिक कारणले गर्दा धेरै मानिसहरु यसप्रति अझै हिच्किचाउँछन् । यस अवधारणालाई प्रोत्साहन गर्न पहिलो आवश्यकता जनस्तरमा व्यापक शिक्षा र जागरूकता हो । विद्यालय, क्याम्पस, धार्मिक संस्था, सामाजिक सञ्जाल, रेडियो/टेलिभिजन तथा समुदायस्तरका कार्यक्रमहरुमार्फत अङ्ग दानको वैज्ञानिक, नैतिक र मानवीय पक्षहरु स्पष्ट रूपमा जनतालाई बुझाउनुपर्छ । अङ्ग दानले कसैको जीवन बचाउन सक्छ भन्ने सन्देश भावनात्मक र तथ्यपरक रूपमा प्रस्तुत गर्नु आवश्यक छ । स्वास्थ्यकर्मी र धार्मिक अगुवाहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । यदि उनीहरुले सकारात्मक सन्देश प्रवाह गरे जनताको विश्वास बढ्न सक्छ । साथै, सरकार र नीति निर्माताहरुले अङ्ग दानसम्बन्धी प्रक्रियालाई सहज बनाउनुपर्छ, जसले गर्दा दाता परिवारमा विश्वासको वातावरण सिर्जना हुन्छ ।

अन्ततः, अङ्ग दानमा जनचेतना नै परिवर्तनको मूल आधार हो । जब सर्वसाधारणले यसलाई जीवन बचाउने महान कार्यको रूपमा बुझ्न थाल्छन् अनि मात्र अङ्ग दानको सङ्ख्या बढ्नेछ र अङ्ग प्रत्यारोपण सेवा अझ प्रभावकारी बन्नेछ ।

प्रत्यारोपण सेवालाई थप सुलभ र प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रले कस्तो भूमिका खेल्नुपर्छ ?

सरकारको भूमिकामा सबैभन्दा पहिले अङ्ग प्रत्यारोपणसम्बन्धी नीतिहरुलाई स्पष्ट, व्यावहारिक र समयानुकूल बनाउनुपर्दछ । ‘मानव अङ्ग प्रत्यारोपण ऐन’ र यससम्बन्धी नियमावलीहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायहरुबीच समन्वय सुदृढ गर्नुपर्छ । साथै, कलेजो प्रत्यारोपण तथा अन्य अङ्गहरुको प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधी, परीक्षण, शल्यक्रिया र फलोअप सेवाहरुमा आर्थिक अनुदान तथा बिमा सुविधा उपलब्ध गराउनु अत्यावश्यक छ । ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीहरुले पनि सेवा पाउन सकून् भन्ने उद्देश्यले अङ्ग प्रत्यारोपण केन्द्रहरुको पहुँच विस्तार गर्नु आवश्यक छ ।

निजी क्षेत्रको भूमिकामा अत्याधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादनमा लगानी, अनुसन्धान तथा तालिम कार्यक्रम सञ्चालन महत्वपूर्ण छन् । साथै, निजी अस्पतालहरुले अङ्ग प्रत्यारोपण सेवामा पारदर्शिता, सेवा शुल्कको न्यूनता र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नुपर्छ । सरकार र निजी क्षेत्रबीच साझेदारीको मोडल (Public–Private Partnership) विकास गर्न सके सेवा गुणस्तरीय, दिगो र देशभर फैलिन सहज हुन्छ । यसरी सहकार्य गर्दै जान सकेमा नेपालमा अङ्ग प्रत्यारोपण सेवा सुलभ, सुरक्षित र जीवनरक्षक बन्नेछ ।

केन्द्रको आफ्नो एक इन्च भवन पनि छैन, उपयुक्त जमिन उपलब्ध भएमा यस केन्द्रकै आफ्नो स्रोतबाट भवन बनाउने कुरा सरकारलाई बारम्बार अनुरोध गरिएको छ तर विलम्ब भइरहेको छ । यस्तै, प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा गरिदिन निकै प्रयास भएको हो, तैपनि कार्यान्वयन भएको छैन ।

तपाईंको विचारमा नेपालमा प्रत्यारोपण चिकित्साको भविष्य कस्तो देख्नुहुन्छ ? आगामी ५–१० वर्षमा केन्द्रले कस्ता लक्ष्यहरु हासिल गर्न चाहन्छ ?

नेपालमा प्रत्यारोपण चिकित्साको भविष्य उज्ज्वल छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग सङ्कलन र प्रत्यारोपण सुरु भइसकेको, दक्ष जनशक्ति तयार पार्ने फेलोसिप कार्यक्रम सुरु गरिएको र केन्द्रमा नियमित रूपमा मिर्गौला तथा कलेजो प्रत्यारोपण भइरहेका कुराहरुले भविष्यको दिशालाई सकारात्मक सङ्केत गर्दछ । आगामी ५–१० वर्षमा केन्द्रले अङ्ग प्रत्यारोपण सेवामा आत्मनिर्भरता हासिल गर्ने, अझ धेरै मस्तिष्क मृत अङ्गदाताबाट मुटु, फोक्सोलगायतको प्रत्यारोपण स्थापित गर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अन्तर्राष्ट्रिय स्तरको केन्द्रलाई अग्रणी प्रत्यारोपण प्रतिष्ठानको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । केन्द्रको नेतृत्वमा देशको सातमध्ये चार प्रदेशमा मिर्गौला प्रत्यारोपण सुचारु भइसकेको छ भने बाँकी तीन प्रदेशमा पनि यो सेवा स्थापित हुने क्रममा छ । केन्द्रको आफ्नो एक इन्च भवन पनि छैन, उपयुक्त जमिन उपलब्ध भएमा यस केन्द्रकै आफ्नो स्रोतबाट भवन बनाउने कुरा सरकारलाई बारम्बार अनुरोध गरिएको छ तर विलम्ब भइरहेको छ । यस्तै, प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा गरिदिन निकै प्रयास भएको हो, तैपनि कार्यान्वयन भएको छैन । देशभर प्रत्यारोपण सेवा विस्तार द्रुत गतिमा गर्न यो अत्यावश्यक छ ।

तपाईंले व्यक्तिगत रूपमा कुनै अविस्मरणीय प्रत्यारोपण शल्यक्रिया गर्नुभएको छ ? कुनै विशेष बिरामीको कथा साझेदार गर्न चाहनुहुन्छ ?

एक शल्य चिकित्सकको रूपमा मैले धेरै प्रत्यारोपण शल्यक्रियाहरुमा सहभागी हुन पाएको छु तर केही अनुभवहरु साँच्चिकै अविस्मरणीय छन् । बेलायतबाट नेपालमा फर्केपछि वीर अस्पतालमा सन् २००८ मा पहिलो मिर्गौला प्रत्यारोपण सेवा स्थापना गर्दा जुन मेहेनत र कठिनाइको सामना गर्नुपर्यो, त्यो मेरो जीवनको अविस्मरणीय क्षण हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काम गर्दा वि.सं. २०७३ मङ्सिर २२ गते पहिलो पटक गरिएको कलेजो प्रत्यारोपण मेरो जीवनको सबैभन्दा महत्वपूर्ण क्षणहरुमध्ये एक हो । त्यो दिन हामीले नेपालको चिकित्सा इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गर्यौं । त्यसैगरी, सबैभन्दा जटिल शल्यक्रिया मानिने मस्तिष्क मृत्यु भएको व्यक्तिबाट पहिलो पटक मिर्गौला र कलेजो दुवै अङ्ग एकै व्यक्तिमा सफल प्रत्यारोपण गरिएको क्षण पनि मेरो जीवनको कहिल्यै नबिर्सिने अनुभव हो । २०८२ जेठ १ गते उक्त प्रत्यारोपण गरिएको थियो । विश्वमै बिरलै हुने यो शल्यक्रिया नेपालमा पहिलो पटक भएको थियो र यसले हामीलाई धेरै उत्साह र आत्मविश्वास दिएको छ । हामी अब अङ्ग प्रत्यारोपणमा नयाँ स्तरमा प्रवेश गरिसकेका छौँ । यी घटनाहरुले मलाई अझ प्रेरित बनाएको छ चिकित्सकको रूपमा मात्र होइन, समाजसेवीको रूपमा पनि । जब म बिरामी र उनका परिवारको अनुहारमा आशा र खुसी देख्छु, त्यही मेरो सबैभन्दा ठूलो पुरस्कार हो ।

चिकित्सा क्षेत्रमा नयाँ पुस्तालाई कस्तो सल्लाह दिनुहुन्छ, विशेषगरी शल्य चिकित्सा र प्रत्यारोपण क्षेत्रमा रुचि राख्नेहरुलाई ?

चिकित्सा क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पुस्तालाई म के भन्न चाहन्छु भने यो पेसा केवल ज्ञान र सीपको अभ्यास मात्र होइन, गहिरो सेवा भावना र निरन्तर समर्पणको क्षेत्र हो । विशेषगरी, प्रत्यारोपण क्षेत्र अत्यन्त संवेदनशील, चुनौतीपूर्ण र जिम्मेवारीले भरिएको हुन्छ । मैले आफ्नो जीवनमा देखेको छु कि एक प्रत्यारोपण शल्य चिकित्सकले केवल बिरामीको शरीरलाई होइन, उसको जीवनलाई पुनःनिर्माण गर्ने काम गर्छ । त्यसैले, यस क्षेत्रमा लाग्न चाहने युवाहरुमा धैर्यता, आत्मानुशासन र लगातार दृढ इच्छाशक्ति हुन आवश्यक छ । प्रत्यारोपणको क्षेत्रमा प्राविधिक दक्षता मात्र होइन, उच्च नैतिकता र इमानदारी पनि अत्यावश्यक छ । अङ्ग प्रत्यारोपण संवेदनशील विषय भएकाले यसमा जनताको विश्वास जित्न सक्ने क्षमता विकास गर्नुपर्छ । नयाँ पुस्ताले अन्तर्राष्ट्रिय स्तरको ज्ञान हासिल गर्दै देश तथा विदेशमा समेत सेवा पुर्याउने सोच राखेमा नेपालजस्ता मुलुकमा पनि विश्वस्तरीय चिकित्सा सेवा सम्भव छ । हालसम्म मैले विदेशबाट फर्केर एक हजार छ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण र तेत्तीस जनाको कलेजो प्रत्यारोपण गरिसकेको छु । मलाई स्वदेश फर्केर देशको सेवा गर्न पाएकोमा कहिल्यै पछुतो महसुस भएको छैन । म यही सन्देश दिन चाहन्छु कि सपना ठूला राख्नुस् तर सेवाको भावना कहिल्यै नछोड्नुस् ।

नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) र अङ्ग दानसम्बन्धी कानुनी र नैतिक पक्षहरुबारे तपाईंको धारणा के छ ?

नेपालमा मस्तिष्क मृत्यु र अङ्ग दानसम्बन्धी कानुनी तथा नैतिक पक्षहरु निकै संवेदनशील र जटिल छन् तर पछिल्लो समय यसमा उल्लेखनीय प्रगति भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा हामीले यस क्षेत्रमा महत्वपूर्ण कदमहरु चालेका छौँ । अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन, २०५५ को संशोधन, २०७२ तथा नियमावलीको संशोधन, २०७३ बाट नेपालमा अङ्ग दानको प्रावधान निकै उदार बनाइएको छ । स्वस्थ व्यक्तिहरुमा नाता पर्नेजति सबैले अङ्ग दान गर्न सक्नुहुन्छ भने गैरनातेदारबीच अङ्ग आपसी साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्युपश्चात् अङ्ग दान र प्रत्यारोपण गर्ने प्रक्रिया वैज्ञानिक र पारदर्शी बनाइएको छ ।

मस्तिष्क मृत्युको वैज्ञानिक र नैतिक आधारलाई संस्थागत गर्दै अङ्ग दानलाई प्रोत्साहन गर्न कानुनी, नीतिगत र सामाजिक समन्वय अनिवार्य छ ।

मस्तिष्क मृत्युपश्चात्को अङ्ग दान र प्रत्यारोपणको समन्वय कसरी हुन्छ ?

मस्तिष्क मृत्युपश्चात् हुने अङ्ग दान र प्रत्यारोपण कार्यको समन्वय गर्न सरकारी संस्था शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा समन्वय इकाई राखिएको छ । जसबाट पारदर्शी ढङ्गले प्रत्यारोपण कार्य गर्न सम्भव भएको छ । उदाहरणको लागि मिर्गौला वितरण गर्दा स्पष्ट मापदण्ड बनाइएको छ । पर्खाइको अवधि, म्याचिङ, अङ्ग दान र ग्रहणकर्ताको उमेरको फरक र लैङ्गिक अवस्थाबाट धेरै अङ्क पाउने उम्मेद्वारले मात्र अङ्ग प्राप्त गर्न सक्दछन् । तिनै प्रावधानबाट वि.सं. २०७४ सालमा पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला र त्यसपछि २०७५ सालमा कलेजो प्रत्यारोपण गरिएको थियो । यस घटनाले नेपालमा मस्तिष्क मृत्युको अवधारणालाई चिकित्सा क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्ने दिशामा माइलस्टोन साबित भएको छ । नैतिक रूपमा, मस्तिष्क मृत्युलाई मृत्युकै रूपमा स्वीकार गर्नुपर्ने विषयलाई समाजमा अझै राम्रोसँग बुझाइदिन आवश्यक छ । अङ्ग दान पूर्णतः स्वेच्छिक र पारदर्शी प्रक्रियामा आधारित हुनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ । बिरामीको गरिमा, परिवारको भावना र चिकित्सकको उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु अत्यन्त आवश्यक छ । यसकारण, मेरो धारणा स्पष्ट छ— मस्तिष्क मृत्युको वैज्ञानिक र नैतिक आधारलाई संस्थागत गर्दै अङ्ग दानलाई प्रोत्साहन गर्न कानुनी, नीतिगत र सामाजिक समन्वय अनिवार्य छ । हामी यही दिशामा अगाडि बढिरहेका छौँ र सबै पक्षको सहयोगको खाँचो छ ।

प्रत्यारोपण केन्द्रले अन्तर्राष्ट्रिय स्तरमा कस्तो सहकार्य वा साझेदारी गरिरहेको छ ?

‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ले अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सन् २०१६ मा नेपालमै पहिलो कलेजो प्रत्यारोपण सफल पार्न दक्षिण कोरियाली विशेषज्ञहरुको सहयोग र तत्पश्चात्का शल्यक्रियाहरुमा भारतीय विशेषज्ञ टोलीको सहयोग भएको थियो । केन्द्रले लगातार वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरु आयोजना पनि गर्दै आएको छ । जस्तो कि, पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन २०१९, दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन २०२२ र द हिमालयन अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन डिसेम्बर २०२४ मा आयोजना गरेको छ । जसमा दक्षिण एसियाली तथा संसारभरका विज्ञहरुबाट अनुभव, ज्ञान र सीपहरुको आदानप्रदान गरिएको थियो । नेपालमा संसारकै सबैभन्दा न्यून शुल्कमा उच्च सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ भने कलेजो प्रत्यारोपण स्थापित हुँदै आएको छ । यो सेवाले अन्तर्राष्ट्रिय बिरामीहरुलाई समेत आकर्षित गर्ने गरेको छ ।

जटिल शल्यक्रियाहरु १२ देखि १५ घण्टासम्म पनि चल्न सक्छन् । शल्यक्रियाबाट बाहिरिएपछि म निर्देशकको भूमिकामा फर्किन्छु, जहाँ नीतिगत निर्णय, बजेट व्यवस्थापन, तालिम कार्यक्रमहरु, अन्तर्राष्ट्रिय सहकार्य र प्रशासनिक कामहरुको निगरानी गर्छु ।

 

 

 

यस केन्द्र र बेलायतको फ्रि म्यान अस्पताल तथा इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजी (ISN), द ट्रान्सप्लान्ट सोसाइटी (TTS) सँग हाम्रो सहकार्य भइरहेको छ । हामीले उक्त संस्थाहरुसँग प्राविधि हस्तान्तरण कार्यक्रम (Sister Program) पूरा गरेर दिक्षित भइसकेका छौँ ।

तपाईंको दैनिक कार्यसूची कस्तो हुन्छ ? एक शल्य चिकित्सक र कार्यकारी निर्देशकको रूपमा कसरी सन्तुलन कायम गर्नुहुन्छ ?

मेरो दैनिक कार्यसूचीमा एक दिन पनि फुर्सदिलो समय पाउन नसकेको आभास हुन्छ । एक शल्य चिकित्सक र कार्यकारी निर्देशकको दोहोरो भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण भए पनि मैले समय व्यवस्थापनको माध्यमबाट सन्तुलन कायम गर्ने गरेको छु । प्रत्येक दिन सर्वप्रथम म अस्पतालको राउन्ड गर्छु । बिरामीको अवस्था बुझ्छु, पोस्ट–अप केसहरुको मूल्याङ्कन गर्नु र आवश्यक सल्लाह दिनु मेरो पहिलो प्राथमिकता हुन्छ । त्यसपछि म मिर्गौला वा कलेजो प्रत्यारोपणजस्ता शल्यक्रियामा संलग्न हुन्छु । जटिल शल्यक्रियाहरु १२ देखि १५ घण्टासम्म पनि चल्न सक्छन् । शल्यक्रियाबाट बाहिरिएपछि म निर्देशकको भूमिकामा फर्किन्छु, जहाँ नीतिगत निर्णय, बजेट व्यवस्थापन, तालिम कार्यक्रमहरु, अन्तर्राष्ट्रिय सहकार्य र प्रशासनिक कामहरुको निगरानी गर्छु । सरकारी जागिरबाट बेलुका ८/९ बजे राती मात्र घर फर्कन्छु । विभिन्न विभाग प्रमुखहरुसँग समन्वय गर्नु, नयाँ रणनीतिहरु तय गर्नु र स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायहरुसँग संवाद गर्नु पनि मेरो नियमित काम हो । यस्तो दुई वटा अत्यन्त संवेदनशील जिम्मेवारीबीच सन्तुलन कायम गर्न म कडा अनुशासन, टिमवर्क र स्पष्ट प्राथमिकता निर्धारणमा विश्वास गर्छु । मेरो उद्देश्य सधैँ अङ्ग प्रत्यारोपण सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनु रहेको छ ।

नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधारका लागि तपाईंका सुझावहरु के–के छन् ?

नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्नका लागि समग्र र दीर्घकालीन दृष्टिकोण आवश्यक छ । सर्वप्रथम, देशभर समान रूपमा स्वास्थ्य पूर्वाधार विस्तार गर्नु अत्यावश्यक छ । अहिलेको अवस्थामा काठमाडौंमा सीमित अत्याधुनिक सुविधा अन्य क्षेत्रहरुमा अभाव देखिन्छ, जसले क्षेत्रीय असमानता सिर्जना गरिरहेको छ । त्यसैले, प्रदेश र जिल्लास्तरका अस्पतालहरुलाई स्तरोन्नति गर्दै उच्च प्रविधिका सेवाहरु विस्तार गर्नुपर्छ । ट्रान्सप्लान्ट सर्जन, फिजिसियन, एनेस्थेसियोलोजिस्टजस्ता विशिष्टीकृत विज्ञहरुको सङ्ख्या सीमित छ र धेरैजसो जनशक्ति विदेश पलायन हुने प्रवृत्ति छ । त्यसैले, यस्ता जनशक्तिलाई देशमै अवसर, सुविधा र प्रेरणा दिन सक्ने वातावरण बनाउनुपर्छ । तसर्थ, यस केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न जरुरी छ । सरकारले अङ्ग प्रत्यारोपणजस्ता सेवाका लागि दिइने अनुदानलाई विस्तार गर्नुपर्छ । विशेषतः कलेजो प्रत्यारोपण र त्यसपछिको औषधोपचार महँगो हुने भएकाले सर्वसाधारणका लागि पहुँचयोग्य बनाउनु जरूरी छ । साथै, मस्तिष्क मृत्यु र अङ्ग दानजस्ता संवेदनशील विषयमा जनचेतना अभिवृद्धि गर्दै कानुनी तथा नीतिगत पक्षलाई व्यवहारमै लागू हुने बनाउनुपर्छ । अन्ततः सरकारी र निजी क्षेत्रबीच सहकार्य बढाउँदै अनुसन्धान, तालिम र सेवा तीन वटै पक्षमा लगानी बढाउनु नै दीर्घकालीन सुधारको आधार हुन सक्छ ।

चिकित्सा क्षेत्रमा लाग्न चाहने युवा पुस्ताले निरन्तर अध्ययन, अनुशासन र सेवाभावलाई जीवनको आधार बनाऊँ । यही मेरो जीवन दर्शन हो, जुन मैले काम र अनुभवबाट सिकेको हूँ ।

तपाईंको जीवनको कुनै विशेष सन्देश वा दर्शन छ, जुन तपाईं आम जनतासँग साझेदार गर्न चाहनुहुन्छ ?

मेरो जीवनको एक विशेष सन्देश भनेको ‘अवसर नपाएको ठाउँमा पनि सम्भावना खोज्न सक्नुपर्छ’ भन्ने हो । नेपालजस्तो स्रोतसाधन सीमित देशमा रहेर पनि समर्पण, दूरदृष्टि र सहकार्यको माध्यमबाट अङ्ग प्रत्यारोपणजस्तो जटिल चिकित्सा सेवा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ भन्ने कुरा हामीले देखाएका छौँ । मैले सधैँ विश्वास राखेको छु कि जबसम्म हामीमा इच्छाशक्ति, इमानदारी र सेवाको भावना हुन्छ, तबसम्म असम्भवजस्तो देखिने कुरालाई पनि सम्भव बनाउन सकिन्छ । म चाहन्छु, आम नागरिकले अङ्ग दानजस्तो पुण्य कार्यलाई सकारात्मक रूपमा लिऊन् र जीवन दिएर पनि अर्को जीवन बचाउने संस्कार स्थापित होस् । साथै, चिकित्सा क्षेत्रमा लाग्न चाहने युवा पुस्ताले निरन्तर अध्ययन, अनुशासन र सेवाभावलाई जीवनको आधार बनाऊँ । यही मेरो जीवन दर्शन हो, जुन मैले काम र अनुभवबाट सिकेको हूँ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत विपन्न र साधन अभाव भएका बिरामीहरुलाई गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउन पाउनु मेरो लागि ठूलो गर्वको विषय हो ।

 

अन्त्यमा, चिकित्सा पेसामा लामो समय समर्पित हुँदा तपाईंले पाएको प्रमुख सन्तोष के हो ?

चिकित्सा पेसामा लामो समय समर्पित हुँदा मैले पाएको प्रमुख सन्तोष भनेको एकजुट प्रयासले नेपालमै जटिल अङ्ग प्रत्यारोपण सेवा सफलतापूर्वक सञ्चालन गराउन सक्नु हो । खासगरी, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत विपन्न र साधन अभाव भएका बिरामीहरुलाई गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउन पाउनु मेरो लागि ठूलो गर्वको विषय हो । चिकित्सा विज्ञानमा जटिल मानिएको मिर्गौला र कलेजोजस्ता अङ्गहरुको सफलतापूर्वक प्रत्यारोपण गरी बिपन्न नेपाली नागरिकहरुकोे जीवन बचाउनु र उनीहरुको परिवारमा नयाँ आशा जगाउनु नै मेरो सबैभन्दा ठूलो सन्तुष्टि हो । मैले नेपालमा अङ्ग दान र प्रत्यारोपण सेवा सर्वसाधारणको पहुँचभित्र पुर्याउन नयाँ प्रविधिको सुरुवात र सोको विस्तारको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत देशैभरि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । मिर्गौला प्रत्यारोपण निःशुल्क गराउनको साथै देशका सात वटै प्रदेशमा दक्ष जनशक्ति उत्पादन गरेर हेमोडायलाइसिस र प्रत्यारोपण विस्तार हुँदै गएकोमा अत्यन्तै गौरव महसुस हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री