क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग र ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने औषधि तथा स्वास्थ्य सामग्रीहरू आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
यी सामग्रीहरू असार २७ गते नेपाल ल्याइएको थियो र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन भण्डारण गरेको थियो। आज मन्त्रालयलाई हस्तान्तरण गरिएका यी औषधि र स्वास्थ्य सामग्रीहरू तत्कालै चार क्यान्सर अस्पतालहरू — विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), र वीर अस्पताल (काठमाडौं) — लाई प्रदान गरिएको छ।
हस्तान्तरण गरिएका औषधि तथा सामग्रीहरू स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर लगायतका स्वास्थ्य समस्याको उपचारमा प्रयोग हुने छन्। यी सामग्रीहरू ती अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरूसँगको सहयोग र समन्वयमा यस्ता औषधि तथा स्वास्थ्य सामग्रीहरू भविष्यमा पनि निरन्तर उपलब्ध गराउन पहल गरिरहेको जनाएको छ।
प्रतिक्रिया