काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरको १७औं नगरसभामा उपमेयर सुनिता डंगोलले यो बजेट पेस गरेकी हुन्। चालु आर्थिक वर्षको तुलनामा यो बजेट ६ करोड रुपैयाँले बढी हो, जुन गत वर्ष २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ थियो।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने अनुमान गरेको छ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने प्रक्षेपण गरेको छ।
क्षेत्रगत रूपमा प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
उपमेयर डंगोलले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको बताएकी छन्। साथै, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, र ‘एक वडा एक उद्यम’ कार्यक्रममार्फत रोजगारी र आयवृद्धिलाई पनि प्राथमिकतामा राखिएको छ।
प्रतिक्रिया