एनआईसी एशिया र आईएफसीबीच दीर्घकालीन कर्जा आदनप्रदान सम्झौता
एनआईसी एशिया बैंक तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदले हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउने व्यवस्था गरेपछि एनआईसी एशियाले आईएफसीबीच दीर्घकालीन कर्जा आदनप्रदान सम्झौता गरेको हो ।
दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि आवेदन गरिसकेको का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।
देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको बैंकले जनाएको छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बंैकको छ ।
हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया