भिजिट भिसा प्रकरणः रास्वपा र राप्रपासँग सभामुखको छलफल
सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर विरोध जनाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग छलफल गरेका छन्। मंगलबार दिउँसो भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए।
सभामुख घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसदीय कारबाहीमा निरन्तर अवरोध गर्दा संसद्को कामकारबाही प्रभावित भएको बताए। उनले भने, “यो कुरा सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु। मेरो ठाउँमा अरू कोही सभामुख भए पनि संसद् चलाउनुपर्ने बाध्यात्मक स्थिति छ।” उनले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक ल्याउने योजना बनाएको उल्लेख गर्दै संसद् अवरोधले ती विधेयकको भविष्य अनिश्चित हुने भन्दै चिन्ता व्यक्त गरे। उनले सरकार र विपक्षी दलहरूलाई संसद् चल्ने वातावरण बनाउन आग्रह गरे।
सभामुख घिमिरेले दलहरूका सैद्धान्तिक र राजनीतिक मुद्दाहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको स्पष्ट पार्दै संसदीय गतिविधिमा अवरोध नपार्न आग्रह गरे।
छलफलमा मन्त्री चौरसियाले सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरी काम सुरु गरिसकेको बताए। उनले विपक्षी दलहरूलाई नजरअन्दाज नगरी सहमतिमा अघि बढ्न सरकार तयार रहेको उल्लेख गर्दै भने, “रास्वपा र राप्रपासँग सरकारले छलफल गरिरहेको छ। सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ।”
यता, रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरूले उठाएका मुद्दाहरू गम्भीर भए पनि सरकारले तिनलाई सम्बोधन गर्नुको सट्टा गैरजिम्मेवारी देखाएको आरोप लगाए। राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले वैरागी छानबिन समितिले गरेको कामबारे संसद्लाई कुनै जानकारी नदिएको गुनासो गरे।
प्रतिक्रिया