बुधबार, ७ साउन २०८२

भदौ २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय बैठक’ हुँदै

समयपोष्ट २०८२ साउन ६ गते २१:४७


जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणलगायत विषयमा सामूहिक रुपमा छलफल गर्ने उद्देश्यले आगामी भदौ २ र ३ गते काठमाडौँमा ‘हिन्दकुश हिमालय संसदीय बैठक’ (एचकेएच बैठक) हुने भएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा उक्त बैठक हुन लागेको हो । समितिले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरू (नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश, म्यानमार, पाकिस्तान र अफगानिस्तान)का जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा सदस्यहरू र संसदीय व्यवस्था नरहेका देशका जलवायु क्षेत्रमा काम गर्ने उच्च पदस्थ निकायका प्रतिनिधिहरूसँग बैठक आयोजना गर्न लागेको हो ।

समितिले आज बैठकको तयारीका सम्बन्धमा सरोकारवाला मन्त्रालयका सचिव र सहसचिव तथा विज्ञहरूको सहभागितामा आवश्यक सहयोग, सहजीकरण, सुरक्षा र आपसी समन्वय लगायतका विषयमा छलफल गरेको थियो ।

छलफलमा परराष्ट्र, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, स्वास्थ्य, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा सहसचिवहरू र अन्य सरोकारवाला निकायका प्रतिनिधि र सम्बन्धित विज्ञहरू सहभागी हुनुहुन्थ्यो ।

एचकेएच बैठकको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने बताइएको छ । समितिका सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा समितिमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागितामा बैठक आयोजना गर्नेसम्बन्धी प्राविधिक समिति गठन गरिएको छ ।

आजको तयारी बैठकमा कृषि समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएको सन्दर्भमा यसका चुनौतीको सामना गर्न हिमाल भएका मुलुकसँग सहकार्य अभिवृद्धिका लागि बैठक गर्न लागिएको बताउनुभयो ।

साथै जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकूलनसम्बन्धी राम्रा सिकाइ आदानप्रदान गरिने उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने बैठकमा अधिकांश मुलुकबाट आउने प्रतिनिधिको निश्चित भइसकेको समितिले जनाएको छ ।

संयोजक बलायरले यस क्षेत्रका जलवायुका मुद्दामा सामूहिक सहकार्य बढाउने तथा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा सशक्त बनाउने उद्देश्यका साथ बैठक आयोजना गर्न लागेको बताउनुभयो । साथै उहाँले बैठकको उद्देश्य र तयारीबारे अवगत गराउँदै यो बैठक राष्ट्रकै गौरवको विषय भएकाले यसलाई सफल बनाउन सबैलाई आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्न आग्रह गर्नुभयो ।

पूर्वमा म्यान्मारबाट पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १० प्रमुख नदीको पानीको स्रोत हो । यही पानीको स्रोतमा करिब दुई अर्ब जनता निर्भर छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री