नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित
नबिल बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ प्राप्त गरेको छ।
आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा बैंकिङ क्षेत्रमा नबिल बैंकलाई यो सम्मान प्रदान गरिएको हो।
गत आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले यो गोल्ड अवार्ड जितेको थियो। शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा माननीय महालेखापरीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरे। यो पुरस्कृत प्रतिवेदन दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) को साफा बिपिए अवार्ड का लागि दक्षिण एसियाली स्तरमा मनोनित हुने अवसरसमेत प्राप्त गरेको छ।
नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। नवीनतम बैंकिङ सेवाको सुरुवात र नेपालको बैंकिङ क्षेत्रको विकासमा कोसेढुङ्गाको भूमिका निर्वाह गर्दै आएको नबिल बैंकले यो सम्मानले आफ्नो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।
प्रतिक्रिया