शुक्रबार, २१ वैशाख २०८१

सांसद, उपमेयर, राजदुत सहित दुई दर्जनले गरे अंगदान घोषणा, उपचारका नाममा विदेश जाने भूत हटाऔं : मन्त्री पण्डित

समयपोष्ट २०७४ फागुन २५ गते ५:२०

वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले स्वदेशी अस्पताल र चिकित्सकमाथि विश्वास नगर्ने प्रवृतिलाई निरुत्साहित गर्नु पर्ने बताएका छन् ।

Advertisement

विश्व मिर्गौला दिवस २०१८ को अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले बिहिवार गरेको कार्यक्रममा मन्त्री पण्डितले उपचारका लागि करोडौ राज्यकोष खर्चेर विदेश जाने भुत हटाउनुपर्ने बताए ।

‘राज्यकोषको करोडौ रकम लिएर केही नेतालाई विदेशमा मात्र उपचार हुन्छ भन्ने भूत लागेको छ । त्यो भूत हटाएर स्वदशमै उपचार गर्ने परिपाटी विकास गर्नु पर्छ’ उनले भने ‘राष्ट्रपतिदेखि प्रधानमन्त्रीले स्वदेशकै सके सरकारी अस्पतालमा नभए निजीमा भएपनि स्वदेशमै उपचार गर्नु पर्छ ।’

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डालियरले मिर्गौला रोगको संक्रमण विश्वमै बढीरहेको तथ्य प्रस्तु गर्दै यसको जोखिम बढी महिलामा भएकाले त्यही अनुसार जनचेतनाका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए ।

Advertisement

सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधानले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा कानूनमा व्यापक परिवर्तन भएको स्मरण गर्दै कानूनसंग मानिसहरुको सोच परिवर्तन हुनु पर्ने अहिलेको आवश्यकता रहेको बताइन । महिलाको स्वास्थ्य अवस्था सुधार हुनका लागि हरेक महिला आर्थिक रुपमा सक्षम हुनु आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बर्डले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा नेपालले गरेको प्रगति सन्तोषजनक भएको बताउदै अंगदानलाई व्यापक बनाउनु पर्नेमा जोड दिए ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पुरुषको तुलनामा मिर्गौला रोगको जोखिममा महिला बढी रहेको बताउदै पुरुषले उपचार गराइहाल्ने तर महिलाको उपचारमा लापरवाही गर्ने प्रवृति हटाउनु आवश्यक रहेकोमा जोड दिए ।

सासंद, उपमेयर, राजदुत लगायत दुई दर्जनले गरे अंगदान गर्ने घोषणा

नेकपा माओवादीकी प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य पम्फा भूलाल, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, अष्ट्रेलियाका राजदुत पिटर बर्ड लगायत दुई दर्जनले आफ्नो मृत्युपश्चात् अंगदान गर्ने सहमति दिए । उनिहरुले केन्द्रको सहमति पत्रमा दायाँ बायाँ औंठाछापसहित हस्ताक्षर गरेर सहमति दिएका हुन् ।

मृत्यु पछि गाडेर कुहिने वा जलाएर खरानी हुने अंग अर्को व्यक्तिमा प्रत्यारोपण गरेर धेरै जनाको ज्यान जोगाउन सकिन्छ अर्थात अंग फेल भएर मृत्युको दिन कुरिरहेको अर्को व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ भने किन नगर्ने ? सांसद भूसालले भनिन् ।

नेपालमा मस्तिष्क मृत्युबाट अंगदान गर्नसक्ने कानुनी बाटो खुलेयता यो सम्भव भएको हो । एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा महत्वपूर्ण अंग निकालेर ८ जनालाई बचाउन सकिने केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस्ता अंगहरुमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा मुटु, १ वटा कलेजो, १ वटा प्याँक्रियाज, १ वटा सानो आन्द्रा रहेका छन् ।
यसरी ८ जना व्यक्तिले नयाँ जीवन प्राप्त गर्न सक्छन् । मस्तिष्क मृत्युबाट आएको अंग राज्यले सही उपयोग गराउन कानुन पारित गरेर काम शुरु गरिसकेको छ । यसमा नेपाल सरकारले स्थापना गरेको भक्तपुरको सल्लाघारीस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सक्रियताका साथ काम गरिरहेको छ ।

सचेतना जागृत गर्न मिर्गौला प्रत्यारोपितहरुबीच खेलकुद

विगत ९ वर्षदेखि विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले गर्दै आएको खेलकुद प्रतियोगितामा ४० वर्षमुनिका महिलाहरुबीच भएको १०० मिटर दौडमा मिर्गौला प्रत्यारोपित गीता श्रेष्ठ प्रथम, तुलासा भट्टराई द्धितिय र प्रतिमा लोहनीले तेस्रो सफलता हाँसिल गरे भने ४० वर्ष माथिका मिर्गौला प्रत्यारोपित महिला दौडमा सानुसोभा शाक्य प्रथम, सुमिना थापा द्धितिय र सुलोचना श्रेष्ठ त्रितिय भईन ।

यसैगरी ४० वर्षमुनिका प्रत्यारोपित पुरुषहरुको १०० मिटर दौडमा श्रीराम चौलागाईं पहिलो, राजेश प्रजापति दोस्रो र जीवनलाल रञ्जितकार तेस्रो भए भने ४० वर्षमाथिका प्रत्यारोपित १०० मिटर दौडमा विष्णुलाल श्रेष्ठ, अरुण तुलाधर द्धितिय र सदा शिव भण्डारी तेस्रो भए ।

यसैवीच महिला २०० मिटर दौडमा गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई द्धितिय र सानुशोभा शाक्य त्रितिय भइृन । यसैगरी ४० वर्षमुनिका पुरुष २०० मिटरको दौडमा खिमबहादुर रुचाल पहिलो, राजेश प्रजापति दोस्रो र झम्क श्रेष्ठ तेस्रो हुनुभयो भने ४० वर्ष मुनिका पुरुष २०० मिटर दौडमा नरेश खत्री पहिलो, दिनेशकुमार चौधरी दोस्रो र अरुण तुलाधर तेस्रो भए ।

यसैगरी ४०० मिटर पुरुष दौडमा कृष्णराम थापा पहिलो, कविराज गैरे दोस्रो र हरिप्रसाद काफ्लेले तेस्रो स्थान प्राप्त गर्नु सफल भए। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु आफ्नो दैनिक दिनचर्या र खेलकुदमा सवल हुन्छन्, डराउनुपर्दै भन्ने सचेतना जागृत गर्न मिर्गौला प्रत्यारोपितहरुबीच विगत ९ वर्षदेखि खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला एवं कलेजो प्रत्यारोपणविद् डा।पुकार चन्द्र श्रेष्ठले बताए ।

पत्रकारलाई सम्मान

कार्यक्रममा यसवर्षको “आरोग्य प्रतिष्ठान सर्वोत्कृष्ट स्वास्थ्य पत्रकारीता पुरस्कार’’द्धारा गोरखापत्रका स्वास्थ्य समाचारदाता सरोज ढुंगेललाई सम्मानित गरियो ।
आरोग्य प्रतिष्ठानका महासचिव डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग रोकथाममा पत्रकारीताको माध्यामबाट महत्वपूर्ण योगदान पु¥याएवापत ढुंगेललाई सम्मानित गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री