आइतबार, १६ कार्तिक २०८२

नेपाली कांग्रेसमा फुटको कल्पना नगर्न शर्माको आग्रह

समयपोष्ट २०८२ कार्तिक १५ गते १८:०४

Advertisement

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा फुट आउने कुनै सम्भावना नरहेको बताएका छन्। महाधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्र मतभेद चर्किरहेका बेला उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, “नेपाली कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ। पार्टीभित्र फरक मतहरू विगतमा पनि थिए, अहिले पनि छन् र भविष्यमा पनि रहन्छन्। तर, त्यसैका आधारमा फुट आउँछ भन्न मिल्दैन।”

उनले फरक विचारलाई पार्टीको सौन्दर्यको रूपमा हेर्न आग्रह गर्दै थपे, “जति गहन छलफल गरेर निष्कर्षमा पुगिन्छ, त्यति नै राम्रो हुन्छ। जस्तो मोही फिट्दा हल्का फिटेमा हल्का मोही मात्र निस्कन्छ, तर राम्रोसँग फिटेपछि घिउ पनि निस्कन्छ। नेपाली कांग्रेस परिपक्व, जिम्मेवार र पाको दल हो।”

महाधिवेशन निर्वाचनअघि गर्ने वा नगर्ने विवादको टुङ्गो लगाउन महासमिति सदस्यहरूको सुझावलाई आधार बनाउन सकिने प्रस्ताव उनले राखे। महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझाव नमानेमा महासमितिको रायलाई निर्णयको आधार बनाउन उपयुक्त हुने उनको भनाइ छ।

Advertisement

शर्माले केन्द्रीय समितिमा छलफलमा आएका चार विकल्पबारे जानकारी दिए। ती विकल्पहरूमा मङ्सिरमै महाधिवेशन गर्ने (महामन्त्री गगन थापाको प्रस्तावअनुसार), विशेष अधिवेशन बोलाउने (केन्द्रीय समितिले वा महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत मतबाट), पुस १६, १७, १८ र १९ गते गर्ने (बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीति अँगालेको ऐतिहासिक दिन) तथा मङ्सिर वा वैशाखमा सहमति नजुटे डिजिटल भोटिङ प्रणालीबाट देश–विदेशका महासमिति सदस्यहरूको राय लिने समावेश छन्।

यसमध्ये पुस १६–१९ गते बीपी कोइरालाको मेलमिलाप नीतिको स्मरणमा महाधिवेशन गर्न आफूले जोड दिएको शर्माले बताए। महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अवमूल्यन गर्न नमिल्ने र त्यसलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री