आइतबार, १६ कार्तिक २०८२

मुक्तिनाथ विकास बैंकको १९औँ साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित, वाणिज्य बैंकमा स्तरोन्नतिको बाटो खुला

समयपोष्ट २०८२ कार्तिक १५ गते १७:०९

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न गरेको छ।

सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको सभापतित्वमा आयोजित सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

लाभांशमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) समावेश छ।

सभाले विशेष प्रस्तावहरू पनि अनुमोदन गरेको छ। बैंकको चुक्ता पुँजी रु. ९,००,०३,८८,७६७.११ (अक्षरेपी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा मात्र) पुर्‍याउने, प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने तथा पुँजी वृद्धिपश्चात् नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय भएको छ।

Advertisement

यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिलगायतका सामान्य प्रस्तावहरू पनि पारित भएका छन्।
सभाको औपचारिक उद्घाटन अध्यक्ष मल्लले गर्नुभएको थियो। कार्यक्रममा सञ्चालक भरतप्रसाद लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराउनुभयो।

सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सेयरधनीहरूले सल्लाह, सुझाव र जिज्ञासा राख्नुभएको थियो। ती जिज्ञासामाथि अध्यक्ष मल्ल र सीईओ पोखरेलले स्पष्ट पार्नुभएको थियो।

वाणिज्य बैंकमा रूपान्तरणको मार्ग प्रशस्त भएसँगै मुक्तिनाथ विकास बैंकले थप विस्तार र सेवा सुदृढीकरणको योजना अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री