इजरायली सेनाले भन्यो-विपिन जोशी जीवित छैनन्
हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी हुन् । उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए।
राजदूत पण्डितले भने,’हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।’
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उनले भने, ‘हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।’
राजदूत पण्डितले शवको विषयमा कहिले प्राप्त गर्ने भन्ने विषय पनि स्पष्ट नभएको बताए ।
विपिन विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए।
प्रतिक्रिया