
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज (पुस ७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी यो आईपीओ निष्कासन गरेको हो।
कम्पनीको जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनको अनुमति प्राप्त भएको छ। यसमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यदि पूरा आवेदन नपरेमा वैदेशिक रोजगारीतर्फको निष्कासन अवधि पुस १७ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीलाई इक्रा नेपालले इस्यूअर रेटिङ ‘सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीले लमजुङमा सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा छ। आयोजनाको विद्युत् अनुमतिपत्रमा ३० वर्ष बाँकी छ। साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। यो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यापारिक उत्पादनमा आएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।










प्रतिक्रिया