
चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरूलाई पाठ्यक्रमले तोकेको परिधिभित्र मात्र सेवामा खटाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
आवासीय चिकित्सकहरूलाई अत्यधिक समय काममा लगाउँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर परेको गुनासो आएपछि आयोगले यस्तो कदम चालेको हो।
सोमबार सबै सम्बन्धित शिक्षण संस्थालाई पत्राचार गर्दै आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले श्रमको शोषण रोक्न सचेत गराएका छन्। उनले पाठ्यक्रमको परिधिभित्र रहेर मात्र चिकित्सकहरूलाई सेवामा खटाउन र सोको व्यवस्थापन गरी यथाशीघ्र आयोगलाई जानकारी गराउन समेत आदेश दिएका छन्।
आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्तामा देखिएको विभेदप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभिन्न शिक्षण संस्थाहरूमा इन्टर्नसिप भत्ता समान नभएको र कतिपय मेडिकल कलेजले अत्यन्तै न्यून भत्ता दिने गरेको गुनासो आयोगमा पुगेको थियो।
यस गुनासोका सन्दर्भमा आयोगले सबै मेडिकल कलेजहरूलाई आफ्ना आङ्गिक अस्पताल सरह नै इन्टर्नसिप चिकित्सकहरूलाई पनि भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ। कलेजहरूले श्रम अनुसारको न्यायोचित भत्ता प्रदान गरेर सोको विवरण अनिवार्य रूपमा आयोगमा पेस गर्नुपर्नेछ।










प्रतिक्रिया