शुक्रबार, १४ वैशाख २०८१

चिन र भारत अब नेपाल रिझाउने होडमा,सि जिनपिङ र मोदीको नेपाल भ्रमणको सम्भावना

समयपोष्ट २०७४ पुष ४ गते १०:०८

समयपोष्ट विश्लेषण
नेपालमा बामपन्थीले बिजय हासील गरेपछि सँसारभर यसलाई एकातिर चिनको बिजयको रुपमा चित्रण गर्न थालीएको छ भने अर्कोतीर दक्षीण एशीयाली मुलुकमा भारतको प्रभाव कमजोर हुन थालेको विश्लेषण पनि गरीएको छ । भारतीय थिंक टयांकहरुले नेपालमा बामपन्थीहरुको बिजयलाई भारतको रणनीतिक असफलता र प्रधानमन्त्री नरेन्द्र मोदीको परराष्ट्र नीतिको कमजोरीका रुपमा औंल्याउन थालेका छन् । यस्तोमा अब भारतले नेपाललाई ‘बिझाउने हैन, रिझाउने’ भूमिका निर्वाह गर्नुपर्ने परिस्थिति बनेको छ ।

Advertisement

ठिक यस्तै सोच चीनीयाँ पक्षको पनि छ । चीनले त पहिलादेखि नै नेपाललाई रिझाउने भुमिका नै निर्वाह गर्दै आएको सन्दर्भमा अब त्यसलाइ अझै घनिभूत र तिब्र पार्ने सोचमा बेइजीङ पुगेको छ । यसबाट भारत र चीनवीच अब नेपाललाई कसरी रिझाउने भन्ने होड सुरु हुनसक्ने आँकलन गर्न सकिन्छ । नेपालमा चीनको बढदो प्रभावलाइ ब्यालेन्समा ल्याउन भारतले पनि नेपालको हितमा कदम चाल्नुपर्ने अवस्था छ ।

यस्तो अवस्था सिर्जना हुनु नेपालको हितमा देखिन्छ । चिन, नेपाल र भारतवीच त्रिपक्षीय आर्थिक साझेदारीको सपना देखेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि यो सुवर्ण अवसर हो । नेपाललाई ट्रान्जीट प्वाइन्ट बनाउन अहिलेको राजनीतक, आर्थिक र रणनीतिक अवस्था नेपालको अनुकुल छ । यो अवसरको सदुपयोग गर्न नेपाली नेताहरु चुक्नुहुन्न ।
पछिल्लो खबर अनुसार चिनियाँ राष्ट्रपती सी चिनफिङले निकट भविश्यमै नेपाल भ्रमणको तयारीप्रारम्भ गरेका छन् ।

नेपालमा बाम गठबन्धनको बलियो र स्थीर सरकार बन्ने भएपछि चिनियाँ राष्ट्रपतीले आफने विदेश भ्रमणको सूचीमा नेपाललाई पनि राखेका हुन् । विशेष सुत्रका अनुसार पहिला पनि केपी ओली प्रधानमन्त्री भएको बेला बोआओ सम्मेलनमा सहभागी हुने क्रममा सिले नेपालमा एक दुइ दिन बिताउने र त्यसक्रममा केरुङदेखि काठमाडौंसम्मको रेलमार्गको शिलान्यास गर्ने योजना बनाइएको थियो । चीन र नेपाल दुबै मुलुकका राष्ट्रपतीले सँयुक्त रुपमा शिलान्यास गर्ने तयारी भए पनि ओली सरकार ढलीहाल्यो ।

चिनले अघि सारेको ‘बान बेल्ट वान रोड’ (ओबीओर) योजना अनुसार चीन दक्षीण एशीयामा सडक र रेलमार्गमार्फत जोडीन चाहन्छ । त्यसका लागि नेपालको मार्ग चीनको मुख्य प्राथमिकतामा परेको छ । सोही कारण काठमाठौंसम्म चिनियाँ रेलवे लीक विस्तार भएको हेर्ने स्वयं चिनियाँ राष्ट्रपतीको सपना भएको बताइन्छ । ओली सरकार ढलीहालेकाले त्यो प्रकृया त्यसै थाती रहेको भए पनि प्रचण्डको नेतृत्वमा बनेको त्यसपछिको सरकारले आफ्नो कार्यकालको अन्त्यतीर एउटा राम्रो काम ग¥यो । भारतकै दबाबका कारण त्यतिबेलासम्म ओबीओआरमा हस्ताक्षर नगरेको नेपालले प्रचण्डकै कार्यकालमा हस्ताक्षर सम्पन्न भयो ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महराको टोली चिन गएर त्यसमा हस्ताक्षर गरेको थियो । त्यसलगत्तै मुलुकमा बाम गठबन्धन पनि बन्यो र चुनावी माहौल सुरु भयो । चुनावमा काँग्रेसको बहुमत आएको भए सायद यो प्रकृया त्यसै तुहीनसक्थ्यो, बाम गठबन्धनले बहुमत ल्याएकाले चिन पनि उत्साहीत भएको बताइन्छ । यही कारण सिको नेपाल भ्रमणको तयारी भइरहेको बताइन्छ । आगामी मार्चमा सिको नेपाल भ्रमण हुने खबरहरु आइरहेका छन् ।

उता, साउथ ब्लकतीरको खबर चियो चर्चो गरीरहने जानकारहरुका अनुसार चिनले यसरी दिन प्रतिदिन नेपाललाई रिझाउँदै जानु भारतको लागि टाउको दुःखाइ र एक हदसम्म ‘इश्र्या’को विषय पनि हो । यही कारण भारतले पनि चिनभन्दा एक कदम अघि सरेर नेपाललाइ आफुतीर तान्ने कोशीस गर्नसक्छ । यसका सँकेतहरु देखिइसकेका छन् । नेपालका लागी भारतका पुर्व राजदूत रन्जीत रेले बाम गठबन्धनका नेता केपी ओली भारतको मित्र, हितैसी भएको धारणा व्यक्त गरेका छन् । उनले ओलीको निकै प्रसँशसा पनि गरेका छन् ।

भारतको सँस्थापन पक्षले नेपालको चुनावी प्रकृयाको स्वागत गरीसकेको छ भने नयाँ बाम सरकारसँग सहकार्य गर्न तयार रहेको बताइसकेको छ । पहिला आफु अनुकुल सँविधान निर्माण नहुँदा भारतले जसरी विरोध गरेको थियो र नाकाबन्दीकै चपेटामा पारेर नेपालीलाई दुःख दिएको थियो, यसपाली भारतको त्यस्तो व्यवहार देखिएन । चुनावमा बाम गठबन्धनले बहुमत ल्याए पनि त्यसको विरोध गर्दा नाकाबन्दीका बेलामा झैं प्रत्युत्पादक हुनसक्ने ठहरमा यसपाली भारतीय पक्ष पुगेको हुनसक्छ । यही कारण उसले उल्टै नयाँ सत्तासीन शक्तिहरुसँग हिमचिम बढाउने र चिनको प्रभाव बढन नदिने रणनीति भारतको हुनसक्छ । कहाँसम्म भने नेपालका बारेमा जानकार भारतीय बिद्वान एसडी मुनीले त बाम गठबन्धन भारतकै सल्लाहमा भएकोसमेत दावी गरेका छन् । अर्थात बाम गठबन्धनको आइडीया भारतकै भएको उनको दावी छ ।

यदि भारतले नेपाललाई बिझाउने हैन, रिझाउने नीति अख्तीयार गर्न लागेको हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक पटक फेरी नेपाल भ्रमणमा आउने सम्भावनालाइ नकार्न सकिन्न । पहिला पनि मोदीको भ्रमणताका भारतले नेपालीको मन जितेको थियो र नेपालमा भारत विरोधी मानसीकता निकै कम भएको थियो । त्योबेला मोदीले बुद्ध नेपालमा जन्मीएको’ भन्दै नेपालीमै भाषण गर्दा काठमाडौंका गल्ली गल्लीमा मोदीको एकखालको जयजयकार नै भएको थियो । नाकाबन्दीपछि भने भारतविरोधी मानसीकता हवात्तै बढयो । अर्को देशमा गएर मोदीले बुद्ध भारतमै जन्मीएको आशयका भाषण गर्न थालेपछि मोदीको क्रेज पनि स्वाट्टै घटयो । नेपालीले मोदीको चर्को विरोध गरेका हयासटयागहरु सामाजिक सँजालमा देखा परे । नेपालीको त्यही राष्ट्रवादी जागरणको जगमा बामपन्थीहरु बलियो भएर आए, मिलेर आए । यी सबै भइरहँदा चीनले पनि नेपालीलाई हौस्याउने काम गर्दै आयो । यो कुरा बुझीरहेको भारतीय पक्षलाई ‘नेपालमा नाकाबन्दी या तर्साउनेवाला फर्मुला काम नलाग्नेरहेछ’ बोध भइसकेको हुनुपर्छ । नेपालीको दुःखेको मनमा मल्हम दल्न मोदीको नेपाल भ्रमण हुनसक्ने अनुमान पनि एकथरीले गर्न थालेका छन् ।

यदि चिनबाट सि र भारतबाट मोदी आएर हामी नेपालीलाइ रिझाउने भूमिका निर्वाह हुनसक्यो भने नेपालले पनि त्रिदेशीय साझेदारीको एजेण्डामा बल गर्नुपर्छ । अहिलेको आर्थिक, राजनीतिक र रणनीतिक अवस्था, बामपन्थीहरुको स्थीर सरकार र चिनको बलियो प्रभावलाई नेपालले राष्ट्रहितमा लगाउनसक्नु नै हाम्रो कुटनीतिक सफलता मानिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री