मंगलबार, ७ वैशाख २०७८

म बसिरहेको प्रतिक्षाकक्षमा पहिले चीनका  राष्ट्रपति र पछी भारतका प्रधानमन्त्री प्रवेश गर्नुभयो, यसलाई सुखद संयोग मान्‍नुपर्छ : प्रधानमन्त्री प्रचण्ड 

समयपोष्ट २०७३ कार्तिक १ गते १२:२७

तिब्र आर्थिक विकासका कारण विश्वमञ्चमा उदियमान शक्तिका रूपमा परिचित पाँच मुलुकहरूको समूह ब्रिक्सको बार्षिक शिखर सम्मेलनका समयमा आतिथ्य मुलुक संलग्न क्षेत्रीय समूहसंग सम्वाद गरी साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यास केही बर्षयता प्रचलनमा रहेको छ। सोही अभ्यासको निरन्तरताको रूपमा भारतमा यसबर्ष ब्रिक्स र बिमस्टेक समूहका एघार मुलुकका राष्ट्र प्रमूख/सरकार प्रमूख सम्मिलित 'आउटरिच शिखर सम्मेलन'को आयोजना भएको हो।सम्मेलनमा ब्रिक्स समूहका उदियमान आर्थिक शक्तिहरू तथा बिमस्टेक समूहका विकासशिल एवं अल्पविकसित मुलुकहरूबिच साझा हित र समृद्धिका प्राप्तिका दिशामा के कस्तो साझेदारी गर्न सकिन्छ भन्ने बिषयमा शिर्ष नेतृत्व तहमा घनिभूत एवं खुलस्त छलफल भयो।  'आउटरिच शिखर सम्मेलन'को मूल बिषय 'अवसरहरूको साझेदारी' रहेको थियो। बिमस्टेक समूहको वर्तमान अध्यक्षको हैसियतले  'आउटरिच शिखर सम्मेलन'मा नेपालको सहभागिता महत्वपूर्ण रह्यो। 

Advertisement

'आउटरिच शिखर सम्मेलन'लाई सम्बोधन गर्ने क्रममा मैले ब्रिक्स समूहका विकासशील मुलुकहरुले आर्थिक, सामाजिक, गरिबि निवारण, विज्ञान तथा प्रविधि लगायत अन्य विविध क्षेत्रमा हासिल गरेको उच्च प्रगतिबाट बिमस्टेक समूहका विकासशील एवं अल्पविकसित मुलुकहरूले लाभ लिने वातावरण श्रृजना गरिनुपर्ने कुरामा जोड दिएँ। पछिल्ला बर्षहरूमा ब्रिक्स मुलुकहरू वैदेशिक लगानी भित्र्याउने प्रतिस्पर्धामा मात्र अगाडि नभई विश्वका अन्य मुलुकले प्राप्त गर्ने वाह्य लगानीको महत्वपुर्ण श्रोतका रूपमा देखा परेको परिप्रेक्ष्यमा विमस्टेक क्षेत्रमा हुने बढी भन्दा बढी लगानी ब्रिक्स बिमस्टेक साझेदारीको महत्वपुर्ण पाटो हुनुपर्ने बिषय मैले उठाएँ। यसै सन्दर्भमा गत बर्ष संचालनमा आएको ब्रिक्सको ‘नयाँ विकास बैंक’मार्फत बिमस्टेक क्षेत्रमा पूर्वाधार विकास एवं दिगो विकासका लक्ष्य प्राप्तिसंग सम्बन्धित प्राथमिकताका क्षेत्रमा लगानीको श्रोत परिचालन हुनुपर्ने बिषय मैले उठाएँ। 

ब्रिक्स मुलुकहरूले द्रूत आर्थिक प्रगति हासिल गर्नका लागि अवलम्वन गरेका उपायहरू विकासशील मूलुकको सन्दर्भमा सफल प्रमाणित भइसकेको सन्दर्भमा त्यस्ता उपायहरूको प्रयोग बिमस्टेक लगायत अन्य विकासशील मुलुकहरूका लागि लाभदायक हुने विचार राख्दै मैले दुई समूहबिच मानव विकास, कृषि प्रविधि तथा आधुनिकिकरण, उर्जा उत्पादन तथा प्रयोग, विश्व शान्ति तथा स्थिरता जस्ता बिषयहरूमा साझेदारी विकास गर्न सकिने कुरा प्रष्ट पारेँ। 

Advertisement

ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलनअघी भारतीय प्रधानमन्त्रीले बिमस्टेक राष्ट्र/सरकार प्रमूख सम्मिलित रिट्रिट बैठकको आयोजना गर्नुभयो। दुई गतिशील क्षेत्र दक्षिण एशिया तथा दक्षिण पूर्व एशिया जोड्ने क्षेत्रीय सहयोग संयन्त्रको रूपमा स्थापित बिमस्टेकभित्र क्षेत्रीय सहयोग कसरी थप सघन बनाउने भन्ने बारे गोवामा सदस्य मुलुकका शिर्ष नेतृत्वबिच उपयोगी छलफल भयो। बिमस्टेक रिट्रिट बैठकको अन्त्यमा बिमस्टेकका प्राथमिकताका बिषयहरू समेटिएको एक घोषणापत्र (Outcome document) जारी भयो। सो दस्ताबेज तपाईँहरुको हातमा परिसकेको छ भन्ने विश्वास लिएको छु। घोषणापत्र परराष्ट्र मन्त्रालयको वेवसाइटमा पनि उपलब्ध छ।

रिट्रिट बैठकलाई सम्बोधन गर्दै मैले क्षेत्रीय कनेक्टिभिटि, उर्जा विकास, व्यापार तथा पारवहन, सांस्कृतिक क्षेत्रमा सहयोग एवं जनस्तरको सम्बन्धको वृद्धि जस्ता बिषयमा जोड दिएँ। आगामी बर्ष बिमस्टेक स्थापनाको २०औं बर्षगाँठ पारेर हामीले बिमस्टेक शिखर सम्मेलन नेपालमा आयोजना गर्न चाहेको बारे सदस्य मुलुकहरूलाई जानकारी गराएँ।  

दुई बहुपक्षीय कार्यक्रमका अतिरिक्त शिखर सम्मेलनका समयमा भारतका महामहिम प्रधानमन्त्री, चीनका महामहिम राष्ट्रपति, श्रीलंकाका महामहिम राष्ट्रपति एवम् भुटानका महामहिम प्रधानमन्त्रीसंग द्विपक्षीय भेटघाट तथा कुराकानी गर्ने अवसर प्राप्त भयो। 

भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीसंगको कुराकानीमा हामीले द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरूलाई समयबद्ध रूपमा सम्पन्न गर्नमा ध्यान दिनुपर्ने बिषयलाई जोड दियौँ। भारतका महामहिम राष्ट्रपतिले निकट भविष्यमा गर्नुहुने नेपाल भ्रमणको कार्यक्रमका बारे छलफल गर्‍यौँ। साथै दुईपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगति अनुगमन गर्न गत महिना भएको मेरो भारत भ्रमणको समयमा सहमति भएअनुसार दुवै सरकारका प्रतिनिधि रहने संयन्त्र गठनको कार्य चाँडै टुंग्याउने बारे समेत कुराकानीभयो।नेपाल भारत सम्बन्धका विविध विषयमा छिट्टै आयोजना हुन गईरहेको नेपाल भारत संयुक्त आयोगको  चौथो बैठकमा विस्तृत समिक्षा हुने भएको छ।

चीनका राष्ट्रपति महामहिम सी जिनपीङसंगको भेटमा हामीले पञ्चशीलको सिद्दान्तमा आधारित मित्रवत् सम्बन्धको बारेमा चर्चा गर्‍यौँ। दुईदेशीय सहयोगात्मक सम्बन्धलाई थप गहन बनाउने दिशामा हामीले विगतमा भएका समझदारी र सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने बिषयमा जोड दियौँ। दुईदेशीय सम्बन्धलाई थप सुदृढ बनाउने उच्चस्तरीय भ्रमणको महत्वमा जोड दिँदै चिनिया राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न मैले पुनः अनुरोध गरेँ। उहाँले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउँदै यथाशिघ्र भ्रमणमा आउने जानकारी दिनुभयो। 

श्रीलंकाका राष्ट्रपति महामहिम मैथ्रिपाला सिरिसेनासँगको कुराकानीमा हामीले दुवै देशकाबिच बिषेशगरि सांस्कृतिक सम्बन्ध एवं हवाई सम्पर्क बढाउनुपर्नेमा जोड दियौँ। साथै क्षेत्रीय सहयोगको प्रबर्द्धन र आपसी हितका विषयमा वहाँसँग मैत्रिपूर्ण वातावरणमा कुराकानी भयो।

भुटानका प्रधानमन्त्री महामहिम छेरिन तोब्गेसंगको भेटमा हामीले हिमालयको काखमा रहेका दुई मूलुकबिच साझा चासोका विविध क्षेत्रमा आपसि सहयोग वृद्धि गर्ने सम्बन्धमा कुराकानि गर्‍यौँ।साथै नेपालमा रहेका भुटानी शरणार्थी समस्या शिघ्र समाधान गर्नु पर्ने विषयमा पनि भुटानी प्रधानमन्त्रीसँग कुराकानी भयो। 

औपचारिक कार्यक्रमका अतिरिक्त सम्मेलनका समयमा ब्रिक्स एवं बिमस्टेक सदस्य मुलुकका राष्ट्र/सरकार प्रमूखहरुसंग अनौपचारिक भेटघाट गर्ने र सम्बन्ध पुनर्ताजगी गर्ने अवसर हामीलाई प्राप्त भयो। 

चीनका राष्ट्रपतिसँगको ‌औपचारिक भेटवार्तापछी होटेल फर्कने क्रममा प्राविधिक कारणले केही समय प्रतिक्षाकक्षमा रहँदा चीनका राष्ट्रपतिसँग कुराकानी गर्ने अवसर प्राप्त भयो। केही समय पछी भारतका प्रधानमन्त्री पनि सोही कक्षमा प्रवेश गर्नुभयो। यसलाई एउटा सुखद संयोग मान्‍नुपर्छ कि मैले उक्त अवसरमा हाम्रा छिमेकी मित्रराष्ट्रहरुका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा आफ्ना बिचारहरु राख्ने मौका पाएँ र वहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनुभयो।यो सकारात्मक पक्ष हो र यसलाई हामीले त्यही अर्थमा बुझ्नुपर्छ। यो कुनै पूर्व निर्धारित कार्यक्रम भने थिएन। 

त्यसै गरी, गोवामा रहँदा दक्षिण अफ्रिकाका राष्ट्रपति महामहिम श्री ज्याकोब जुमासँग भेट भई द्विपक्षीय सम्बन्ध र शान्ति प्रक्रियाको अनुभवका विषयमा कुराकानी भयो। नेपालमा आवासीय राजदूतावास खोल्ने विषयमा दक्षिण अफ्रिकाका राष्ट्रपतिले सकारात्मक रुपमा विचार गर्ने जानकारी दिनुभयो।

(ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ति पश्‍चात् प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई गरेको सम्बोधन।)


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री