मंगलबार, ११ कार्तिक २०८२

प्रचण्डको आह्वान : गणतान्त्रिक शक्तिको राष्ट्रिय मोर्चा गठन गरौं

समयपोष्ट २०८२ कार्तिक ११ गते ८:४०

Advertisement

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल मोडमा पुगेको भन्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअपेक्षा पूरा गर्न गणतान्त्रिक शक्तिहरूलाई साझा राष्ट्रिय मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले साझा आन्दोलनको माध्यमबाट अघि बढ्न सबैलाई अपिल गरेका हुन् ।

उनले भनेका छन्, “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ । यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबिच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।”

राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको आधार निर्माणका लागि माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको अपरिहार्य आवश्यकता रहेको प्रचण्डले जोड दिएका छन् ।

Advertisement

उनले थप भनेका छन्, “यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री