मंगलबार, ११ कार्तिक २०८२

दिल्ली पुगेर ऊर्जामन्त्री घिसिङले भने- नेपालमा नविकरणीय ऊर्जामा लगानी गर्नुहोस्

समयपोष्ट २०८२ कार्तिक ११ गते १८:०८


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् तथा सौर्यजस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

Advertisement

मङ्गलबार भारतको नयाँ दिल्लीमा बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पनासम्बन्धी विषयगत सत्रमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जा यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको बताए ।

“जलविद्युत्को अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ,” उनले भने, “म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु – नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।”

मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोत भएको उल्लेख गर्दै यसले क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । जलविद्युत् उत्पादनले देशको विकासलाई मात्र नभई दक्षिण एसियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन पूरा गर्ने उनको भनाइ छ । सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माण कार्य अघि बढाएको उनले जानकारी दिए ।

नेपालमा झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावना रहेको उल्लेख गर्दै मन्त्री घिसिङले यी स्रोतहरू स्वच्छ, नवीकरणीय र छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक भएको बताए । क्षेत्रीय र विश्वव्यापी ग्रिड विकाससँगै अन्तरआवद्ध प्रसारण सञ्जालले नविकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने उनको धारणा छ ।

Advertisement

“यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ,” उनले भने, “यसलाई वास्तविकता बनाउन क्षेत्रीय देशहरूले एकीकृत विद्युत् बजारतर्फ अघि बढ्नुपर्छ । सहज, भेदभावरहित र अप्रतिबन्धित हरित ऊर्जाको प्रवाह सुनिश्चित गर्न पारदर्शी नियमन, मापदण्डहरूको एकरूपता र प्रसारण पूर्वाधारमा खुला पहुँच विस्तार मुख्य तत्वहरू हुन् ।”

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जा भिजनको मुटुमा रहेको बताउँदै मन्त्री घिसिङले बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा आवद्ध मुलुकहरूबीच पूर्ण आवद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र नभई भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए । त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्रबारे पनि उनले चर्चा गरे ।
जलवायु परिवर्तनका कारण विद्युत् प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई सम्बोधन गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउन आह्वान गर्दै मन्त्री घिसिङले भने, “नेपालको कार्बन उत्सर्जनमा योगदान नगन्य छ, तर बारम्बार बढ्दै गएका बाढी र खडेरीका घटनाले विद्युत् प्रणालीमा क्षति पुर्‍याइरहेका छन् । जलवायुप्रतिरोधी पूर्वाधार सुदृढीकरण हाम्रो राष्ट्रिय प्राथमिकता हो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री