शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैङ्क टप ८ भित्र पर्दछ, जुन यस वर्षको हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो

समयपोष्ट २०७८ भदौ २३ गते १५:४४

Advertisement

भर्खरै मात्र सार्वजनिक भएको मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ?

विभिन्न कारणले गर्दा अघिल्ला वर्षहरुमा भन्दा केही ढिलो गरी आए पनि सम्रगमा मौद्रिक नीतिलाई समयानुकूल राम्रो भन्नुपर्छ । विशेषगरी हरेक वर्ष प्रकाशित हुने मौद्रिक नीतिबाट निर्धारण हुुने व्याजका बारेमा आम मानिसमा धेरै चासो हुुने गर्दछ । मुुद्रास्फितीलाई प्रभाव पार्ने भएको कारणले पनि हुुन सक्छ मौद्रिक नीतिलाई चासोका साथ हेर्ने गरिएको छ । यसबाहेक कोरोना महामारीको अवस्थाबाट गुज्रिरहेको देशको समग्र अर्थतन्त्रलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यस वर्षको मौद्रिक नीतिले अर्थत्रन्त्रमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । अहिलेको अवस्थालाई हेरेर यस वर्षको मौद्रिक नीतिमा हामी बैङ्करहरुले राष्ट्र बैङ्कलाई केही सुुझावहरु दिएका थियौं । तीमध्ये अधिकांश सुुझावहरु समेटिएको जस्तो मलाई लाग्छ र बाँकी केही कुुराहरु यसपछि आउने निर्देशिकाहरुमा पनि समेटिने विश्वास मैले लिएको छुु । यसरी समग्रमा भन्दा यस वर्षको मौद्रिक नीतिलाई मैले सकरात्मक रुपमा लिएको छुु ।

सीडी रेसियोलगायतका मौद्रिक नीतिको व्यवस्थाले बैङ्किङ क्षेत्रमा कस्तो असर पर्छ ?

कोरोना महामारीका कारणले गर्दा अधिकांश व्यापार–व्यवसाय प्रभावित भएको अहिलेको विषम परिस्थितिमा कर्जा र निक्षेपबीचको सन्तुलनलाई ध्यानमा राखेर यस वर्षको मौद्रिक नीतिले सीसीडी अनुपात खारेज गरी सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । श्रावण मसान्तको तथ्याङ्क नै हेर्ने हो भने वाणिज्य बैङ्कहरुको औसत सीडी रेसियो ९१.२० देखिन्छ र हालको यो व्यवस्थाका कारणले तरलता अभाव हुने, कर्जाको व्याजदरमा चाप पर्नेलगायतका असर पर्ने देखिन्छ । तर, नियमनकारी निकायले यस व्यवस्थामा पनि केही संशोधन गर्ने आश्वासन दिएका छन्, जसका कारण हामी केही आशावादी भने भएका छौं ।

कतिपय बैङ्कले अहिले लोन नै रोकेर ‘पर्ख र हेर’को अवस्थामा छन् । व्याज बढाउँदैमा निक्षेप आउँछ भन्ने ग्यारेन्टी के हुन्छ ?

मलाई त्यस्तो लाग्दैन किनकि श्रावण महिनाको अन्तिमसम्मको २७ वटा कर्मसियल बैङ्कको डाटा नै हेर्नुभयो भने पनि आषाढ महिनाको तुलनामा श्रावण महिनामा ४३.०८ अर्बले लोन बढेको छ भने डिपोजिट ग्रोथ नेगेटिभमा रहेको छ । हाल सरकारी खर्च नै नभएका कारण र धेरैजसो बैङ्कको सीसीडी अनुपात ८० प्रतिशत माथि रहेकोले तरलता अभाव हुन्छ जस्तो देखिएको छ र लोन पनि रोकेको हुन सक्छ । तपाईंले सही भन्नुभयो व्याज बढाउँदैमा नयाँ निक्षेप आउँछ भन्ने होइन तर एक बैङ्कबाट अर्को बैङ्कमा निक्षेप तान्न भने सहज हुन्छ भनेर व्याज बढाएको जस्तो देखिन्छ । तर, सरकारी खर्च भनेजस्तो हुने हो भने तरलताको अभाव असोज मसान्तसम्म हुने देखिँदैन ।

साना तथा मझौला ऋणमा पनि व्याज दर निर्धारण गरिएको छ । यसलाई कसरी लिनुभएको छ ?

कोरोना महामारीले थलिएको अर्थतन्त्र बिस्तारै उकास्न साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आएको मौद्रिक नीतिले कोरोना प्रभावित व्यवसायको पुनरुत्थान तथा आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने विश्वास मैले लिएको छु । एउटै बैङ्कले ऋण दिन सक्ने सीमा वृद्धि, विपन्न वर्ग कर्जा गणनामा विस्तार तथा साना र मझौला व्यवसायीको ऋणमा २ प्रतिशत (बेस रेट+) व्याजको सीमा निर्धारण गर्ने व्यवस्था धेरै नै सकारात्मक कदमको रुपमा मैले लिएको छु । ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरणसम्बन्धी व्यवस्था, सार्वजनिक सवारी मर्मतका लागि प्रतिसवारी दुई लाख रुपैयाँ कर्जा प्रदान गर्ने व्यवस्थालगायतका कुराले थलिँदै गएको साना तथा मझौला व्यवसायलाई अवश्य पनि राहत मिल्नेछ भने साना तथा मझौला व्यवसायबाट देशको अर्थतन्त्रमा केही हदसम्म सन्तुलन कायम हुने आशा राख्न सकिन्छ ।

सेयरमा लगानी गर्नका लागि ऋणको सीमा तोकिनुले कस्तो असर गर्ला ?

विशेषगरी व्यापार–व्यवसाय अति नै प्रभावित बनेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा उकालो लाग्दै गरेको सेयर बजार हेर्दा केही सीमित सेयर खेलाडीले मात्र यसको लाभ उठाउन सक्ने अवस्था सिर्जना भएको देखिन्छ । सेयर बजार चलायमान र अस्थायी प्रकृतिको रहने भएकाले नियमनकारी निकायले समयमा नै आवश्यक नियमन गर्न नसकेको खण्डमा यसबाट भविष्यमा ठूलो दुर्घटना निम्तन सक्ने आँकलन गरी यस वर्षको मौद्रिक नीतिमा सेयर बजारसँग सम्बन्धित व्यवस्था आउनु एकदमै सकरात्मक मान्नुपर्दछ । यो अवस्थामा नेपाल राष्ट्र बैङ्कले भविष्यमा देखा पर्न जाने जोखिमलाई मध्यनजर गर्दै मौद्रिक नीतिमा समावेश गरेको सेयर लगानीसम्बन्धी नयाँ व्यवस्थाले ठूला सेयर लगानीकर्ताहरुलाई केही हदसम्म प्रभावित पार्न सक्छ तर यसलाई नकरात्मकरुपमा नलिई परिस्थितिले उब्जाएको आवश्यकताको रुपमा लिनुपर्छ जस्तो लाग्छ । यो व्यवस्था साना लगानीकर्ताहरुलाई पनि प्रोत्साहन दिई पहुुँच अभिवृद्धि गर्ने अभिप्रायले ल्याइएको जस्तो मलाई लाग्दछ ।

दोस्रो लहरको कोभिडले बैङ्किङ क्षेत्रलाई कस्तो प्रभाव पार्यो ?

कोरोनाको पहिलो लहरले प्रभावित बनेको वित्तीय क्षेत्र बिस्तारै माथि उठ्ने क्रममा रहेको थियो तर सोही समयमा दोस्रो लहर देखा पर्न गयो । कोरोना महामारीको उपज लकडाउनका बीच बैङ्क तथा वित्तीय क्षेत्र ठप्प रहे । दैनिक रूपमा सर्वसाधारणको भिडभाड हुने बैङ्किङ क्षेत्रमा कोरोनाको जोखिम उत्तिकै रह्यो । धेरै बैङ्कका कर्मचारी कोरोना सङ्क्रमित हुन पुगे । करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए । धेरै कर्मचारीमा सङ्क्रमण देखिएपछि कतिपय शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । हामी अत्यावश्यक क्षेत्रअन्तर्गत पर्ने भएकाले जोखिम मोलेरै भए पनि हामीले आम नागरिकलाई सेवा प्रदान गरी नै रह्यौं । तर, व्यापार–व्यवसाय ठप्प हुँदा नयाँ लगानीका अवसरहरु बन्द रहे, पुरानो किस्ता पनि समयमा उठाउन समस्यालगायतका थुपै कुराहरु प्रभावित बन्न पुगे । धेरैजसो कर्मचारी कोरोनाको सिकार बन्न पुुग्नुुभयो र केहीले आफ्नो जीवन नै गुमाउनु पर्यो । तर, अवस्था जे–जस्तो रहे तापनि हामीले आम नागरिकलाई सेवा प्रदान गर्ने कर्मबाट कहिल्यै पछि हटेनौं । समग्रमा कोरोना महामारी बैङ्किङमात्र नभएर देशका लागि नै चुुनौतीपूूर्ण रहन गयो । फेरि तेस्रो लहरको पनि आँकलन भइरहेको छ । यसले गर्दा अहिले नै सम्पूूर्ण कुुुराहरुको मापन गर्न नसकिए पनि यसले दीर्घकालीन असर भने धेरै गरेको छ ।

केन्द्रीय बैङ्कले सहुलियत व्याजदरको कर्जा बढाउन प्रोत्साहन गरिरहेको छ । तर, अझै पनि बैङ्कबाट सहज कर्जा नपाइएको गुनासो छ ?

नियमनकारी निकायबाट जारी हुने तथ्याङ्क हेर्ने हो भने अवस्था विषम परिस्थितिको बाबजुद अवस्था सन्तोषजनक नै देखिन्छ । अहिले पनि बैङ्कहरुले सहुलियत व्याजदरमा कर्जा प्रवाह गरी नै रहेको देखिन्छ । हुन सक्छ सोचेअनुरुप नभएको होला तर कर्जा नै नपाइएको भन्ने चाहिँ होइन । नीति–नियमभित्र बसेर जोखिमका क्षेत्रहरु मूल्याङ्कन गर्दैै प्रक्रिया पूरा गर्न केही समय लागे पनि मापदण्ड पूरा भएका क्षेत्रहरुमा हामीले सहज कर्जा प्रदान गरिरहेकै छौँ । त्यस्ता सहुलियतपूर्ण कर्जा जुन क्षेत्रमा लगानीका लागि भनेर हामीले कर्जा प्रवाह गरेका हुन्छौं । त्यसको सही ठाउँमा सदुपयोग भएको छ कि छैन मुख्य कुरा हो । पछिल्ला केही तथ्याङ्कहरु हेर्ने हो भने भने हामीले सोचेअनुरुप सहुलियतपूर्ण कर्जाहरु सही ठाउँमा सदुपयोग नभएको हो कि भन्ने देखिन्छ । साथै, विगतमा यस्ता सहुलियतपूर्ण कर्जा सरकारले मिनाहा गरेको उदाहरण सर्वविद्वितै छ । सायद त्यस्ता ऋणहरुको व्याज समयमा उठ्न नसक्ने, सही ठाउँमा उपयोग नहुनेजस्ता विविध कारणले गर्दा पनि बैङ्कहरु यसप्रति खासै आकर्षित नदेखिएका होलान् जस्तो मलाई लाग्छ ।

माछापुच्छ्रे बैङ्कको अहिलेको अवस्था कस्तो छ ?

भर्खरै मात्र हामीले गत वर्षको व्यालेन्स सिट प्रकाशित गर्यौं । तपाईंले पनि हेर्नुुभयो होला । रिर्टन अन इक्विटीमात्र हेर्ने हो भने त झन् माछापुच्छ्रे बैङ्क टप ८ भित्र पर्दछ, जुन यस वर्षको हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । त्यसबाहेक आ.व. २०७६÷७७ को तुलनामा यो वर्ष हाम्रा धेरैजसो सूचकहरुमा उल्लेख्य सुधार भएका छन् । गत वर्षको अन्त्यसम्म बैङ्कको निक्षेप १ खर्ब ३४ अर्ब सङ्कलन भएको छ भने कर्जा लगानी १ खर्ब १६ अर्ब रहेको छ । गत आ.व.को चौथो त्रैमासमा हामीले खुुद नाफा रु. १ अर्ब ६३ करोड ६ लाख ८१ हजार आर्जन गर्न सफल भयौं, जुुन अघिल्लो वर्षको तुुलनामा २८.८९ प्रतिशतले बढी हो । आ.व. २०७६/७७ को सोही अवधिमा सञ्चालन मुुनाफा १ अर्ब ९२ करोड ४ लाख ७४ हजार रहेकोमा आ.व. २०७७/७८ मा यसलाई बढाएर २ अर्ब ४७ करोड ४२ लाख ६० हजार पुर्याउन सफल भयौं । समीक्षा अवधिमा बैङ्कको खुुद व्याज आम्दानी ४ अर्ब ३२ करोड ६० लाख ९९ हजार पुुगेको छ भने वितरणयोग्य मुुनाफा भने १ अर्ब १३ करोड २७ लाख ३५ हजार रहेको छ । त्यस्तै, भाखा नाघेको कर्जा अनुपात ०.६२% रहँदा बैङ्कको रिर्टन अन इक्विटी १२.६६% रहेको छ । यस वर्ष कोरोना महामारीको दोस्रो कहरका कारण लामो समयसम्म भएको लकडाउनका बाबजुुद पनि अघिल्लो वर्षको तुुलनामा अधिकांश सूचकहरुमा सुुधार आएको भए पनि एकदमै सन्तोष मान्न सकिने ठाउँ भने छैन ।

बैङ्कका आगामी योजना के छन् ?

दोस्रो चरणपछि तेस्रो चरणको पनि आँकलन भइरहँदा यस वर्ष पनि हामीले हामीसँग भएका डिजिटल च्यानलहरुको बढीभन्दा बढी प्रयोगमा ध्यान केन्द्रित गर्नेछौँ, जसले गर्दा ग्राहकलाई पनि बैङ्किङ कारोबार गर्न सहज होस् र जोखिम पनि कम होस् । हामीसँग भएका डिजिटल च्यानलहरु अनलाइन खाता, मोबाइल बैङ्किङ एप, मोबाइल वालेट ‘रेमिट्याप’, इन्टरनेट बैङ्किङ, क्यूआरलगायतका सेवालाई अझ परिमार्जित र परिस्कृत बनाएर लग्ने योजनामा छौँ ।

त्यस्तै, ग्राहकको सेवा नै हाम्रो पहिलो दायित्व भएको हुुँदा सकेसम्म नयाँ–नयाँ अफरहरु ल्याएर ग्राहकलाई देशका हरेक क्षेत्र र वर्गसम्म बैङ्किङ पहुँच पुर्याउने उद्देश्यले खोलिएका शाखारहित बैङ्किङ सेवाहरुलाई अझै सुदृढ गरी अझ सरल र सहज बनाउनेतर्फ पनि हामी लागि परिरहेका छौँ । कोरोनाबाट कसरी बच्ने, कर्मचारीको स्वास्थ्यमा कसरी ध्यान दिने, ग्राहकको सन्तुुष्टीलगायतका कुुरा हाम्रो पहिलो प्राथमिकतामा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री