शनिबार, २१ असार २०८२

विष्णुमती नदी किनारमा सतर्कता अपनाउन आग्रह

समयपोष्ट २०८२ असार २० गते १९:०३

Advertisement

जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती नदी किनार आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार साँझ जारी सूचनामा विभागले विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र यो बढ्दो क्रममा रहेको जनाएको छ।

विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने र विष्णुमती नदी किनार भएर यात्रा गर्ने सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ। नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सतर्क रहन जरुरी रहेको विभागको भनाइ छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी ४३.२ मिलिलिटर वर्षा रेकर्ड गरिएको छ। त्यस्तै, सोलुखुम्बु, पर्वतलगायतका जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रका बासिन्दालाई सम्भावित बाढी र पहिरोको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सुझाएको छ।

Advertisement

नदी किनारमा अनावश्यक यात्रा नगर्न र नदी तटीय क्षेत्रमा बसोबास गर्नेले सुरक्षित स्थानमा रहन विभागले सुझाएको छ। मौसम सम्बन्धी अद्यावधिक जानकारीका लागि स्थानीय प्रशासन र विभागको सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म मनसुनी गतिविधि सक्रिय रहने भएकाले सम्पूर्ण नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री