मंगलबार, २४ असार २०८२

प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता

समयपोष्ट २०८२ असार २० गते १८:३६

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजित संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ (एफएफडी–४) मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गर्नुभयो।

नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारद अर्पण गरेको थियो। स्वागतका लागि विमानस्थलमा उच्चपदस्थ सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणमा प्रधानमन्त्री ओली असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो। सम्मेलनमा उहाँले विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्रप्रमुख, विश्व र क्षेत्रीय सङ्गठनका प्रतिनिधि, वित्तीय र व्यापारिक संस्था, व्यवसायी र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार उहाँले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट गर्नुका साथै समकक्षी सान्चेजसँग पनि द्विपक्षीय वार्ता गर्नुभयो।

सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु राष्ट्रहरूले विकासमा सामना गर्ने चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गरेको थियो। दिगो विकासका लागि तत्कालीन र दीर्घकालीन लगानीका चुनौती समाधानमा केन्द्रित यो सम्मेलनमा नेपालको सक्रिय सहभागिता रह्यो।

Advertisement

प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत स्पेन भ्रमणमा सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री