मंगलबार, ४ कार्तिक २०८२

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको भव्य उद्घाटन

समयपोष्ट २०८२ भदौ ११ गते १५:१४

Advertisement

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराहीस्थित चिलिमे टावरमा आफ्नो शाखा कार्यालय स्थानान्तरण गरी औपचारिक रूपमा वित्तीय सेवा सुरु गरेको छ। जमलमा रहेको पुरानो शाखालाई नयाँ र आधुनिक भवनमा स्थानान्तरण गरिएको हो। नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्नुभयो। साथै, जोखिम व्यवस्थापनमा थप सजगता अपनाउन सुझाव दिँदै बैंकको निरन्तर प्रगति र उत्कृष्ट सेवा प्रवाहको लागि शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राख्नुभयो भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भविष्यका योजनाहरूबारे जानकारी दिनुभयो। त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि बैंक र नियामक निकायले अवलम्बन गर्नुपर्ने रणनीतिहरूबारे चर्चा गर्नुभयो।

Advertisement

कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गर्नुभएको थियो। समापन मन्तव्यमा मल्लले बैंकको सेवा गुणस्तरमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ कार्यालयबाट प्रदान गरिने आधुनिक र पूर्ण वित्तीय सेवाले ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

उक्त विशेष समारोहमा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरू, संस्थापक र सर्वसाधारण सेयरधनीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, ग्राहकहरू र स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। रिङरोडसँग जोडिएको र पर्याप्त पार्किङ सुविधा उपलब्ध यो नयाँ कार्यालयले ग्राहकहरूको पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

मुक्तिनाथ विकास बैंकले नेपाली वित्तीय बजारमा विविधिकृत सेवाहरू मार्फत आफ्नो विशिष्ट पहिचान बनाएको छ। यो नयाँ शाखाले ग्राहकहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री