लक्ष्मी पूजामा आन्तरिक माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात
यस वर्ष तिहारको लक्ष्मीपूजाको दिन देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६:५० बजे यो रेकर्ड कायम भएको हो ।
गत वर्ष कात्तिक १६ गते परेको लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट थियो । यस वर्ष ४८ मेगावाट बढी माग रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
तिहारका कारण उद्योग तथा कलकारखानाहरू बन्द रहने भएकाले यो पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको मात्र हो । लक्ष्मीपूजाको दिनको सम्पूर्ण विद्युत् माग देशभित्रैका जलविद्युत् गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको माग पूरा भएपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा भारतमा केवल २५३ मेगावाट मात्र निर्यात भएको थियो । यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
निर्यातसहित प्रणालीमा समग्र विद्युत् माग २ हजार ६६५ मेगावाट पुगेको प्राधिकरणले उल्लेख गरेको छ । गत वर्ष यो माग १ हजार ८५५ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड पनि १ हजार ६५० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष उपत्यकामा यो माग ३९० मेगावाट मात्र थियो ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आजै लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरे ।
मन्त्री घिसिङको नेतृत्वमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल, उपकार्यकारी निर्देशकलगायतको टोलीले विद्युत् आपूर्ति र मागको अवस्थाबारे जानकारी लिए।
प्राधिकरण यस वर्ष पनि लक्ष्मीपूजाको दिन मुलुकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ। प्राधिकरणले विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युत्गृहका प्रमुखहरू तथा प्राविधिक कर्मचारीलाई पूर्ण तयारी अवस्थामा राखेको थियो।
प्रतिक्रिया