बिहीबार, ३० असोज २०८२

रुग्ण सिँचाइ आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु, अमन कन्स्ट्रक्सनलाई कारबाहीको तयारी

समयपोष्ट २०८२ असोज ३० गते ८:३७

Advertisement

बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता गरेर पनि काम नगरी वर्षौंदेखि अलपत्र पारेको अमन कन्स्ट्रक्सन कम्पनी, गुलरिया–५ सँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेको छ।

आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो। आर्थिक वर्ष २०७७/७८ मा नहर मर्मत, कमान्ड क्षेत्र संरक्षण र भवन मर्मतलगायतका कामका लागि कम्पनीसँग गरिएको ६ वटा ठेक्कामध्ये चारवटाको निर्माण प्रगति शून्य रहेको, एउटाको ३० प्रतिशत र अर्कोको ५५ प्रतिशत मात्र प्रगति भएको आयोजनाले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोही निर्देशनअनुसार बबई सिँचाइ आयोजनाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको हो।

आयोजनाले पटक–पटक सूचना जारी गर्दा पनि अमन कन्स्ट्रक्सनले सम्झौताअनुसार काम सुरु नगरेको, बिचैमा छाडेको र ठेक्काको म्याद सकिँदासम्म पनि कुनै प्रगति नदेखाएको बताएको छ।

Advertisement

आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउन ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ।

यदि पेस गरिएका प्रमाण नियमसंगत वा चित्तबुझ्दो नभएमा सार्वजनिक खरिद ऐनअनुसार कार्यसम्पादन जमानत र धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने आयोजनाले जनाएको छ।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी–बबई र सुनकोसी–मरिण वहुउद्देश्यीय आयोजनासहित २५ वटा आयोजनाका ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री