सोमबार, १९ साउन २०८२

महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी बैंकबीच बैंकिङ सेवा विस्तारका लागि समझदारी

समयपोष्ट २०८२ साउन १८ गते १२:०७


महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकबीच सीमापार वित्तीय सेवालाई प्रवर्द्धन गर्न र भारतबाट नेपालमा भुक्तानी सुविधा सहज बनाउन समझदारी भएको छ।

यो सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा रकम भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। यो सुविधा सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक नेपालको पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्रक्रियागत कार्य पूरा गरी परिक्षण कारोबारसमेत सम्पन्न गरिसकेका छन्।

यस समझदारीमार्फत महालक्ष्मी विकास बैंकले एच.डी.एफ.सी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा (सी.एम.एस.) अन्तर्गत सी.एम.एस. चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त गर्नेछ। यसले व्यक्तिगत वा संस्थागत ग्राहकहरूलाई भारतबाट नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (एन.ई.एफ.टी.), रियल टाइम ग्रस सेटलमेन्ट (आर.टी.जी.एस.) र अन्य फण्ड ट्रान्सफर माध्यममार्फत एच.डी.एफ.सी बैंक हुँदै नेपालको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सजिलो बनाउनेछ। साथै, भारतका अन्य बैंकका चेक जम्मा गरेर पनि नेपालमा रकम पठाउन सकिनेछ।

यो सहकार्यले नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सीमापार व्यापार र रेमिट्यान्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ। यो प्रणालीले बैंकको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतालाई पनि बलियो बनाउनेछ।

हालै, महालक्ष्मी विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै बैंकले देशभरका १०३ शाखा कार्यालयमार्फत ८ लाख ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री