‘चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ’– राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गर्नुभएको छ ।
“चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको छ, त्यसैले हामीले त्यसबारे विचार गर्नैपर्छ । हाल नोभेम्बर १ देखि चीनले यसमा करिब १५५ प्रतिशत कर तिर्नुपर्नेछ । मलाई लाग्दैन कि यो उनीहरूका लागि दिगो रहनेछ”, मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “म चीनसँग राम्रो हुन चाहन्छु, तर चीन वर्षौंदेखि हामीसँग अत्यन्त कठोर व्यवहार गर्दै आएको छ । हाम्रा अघिल्ला राष्ट्रपतिहरूले व्यापारमा पर्याप्त समझदारी देखाउन सकेनन्, जसका कारण चीन र अन्य देशहरूले अमेरिकाको फाइदा उठाए ।”
ट्रम्पले आफूले युरोपेली सङ्घ (इयु), जापान र दक्षिण कोरियासँग शुल्क–आधारित व्यापार सम्झौता गरेको स्मरण गर्दै ती सम्झौताहरू ‘राष्ट्रिय सुरक्षासँग सम्बन्धित’ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले युरोपेली सङ्घसँग सम्झौता गरेँ, जापान र दक्षिण कोरियासँग पनि गरेँ । यी सबै ठूला सम्झौताहरू हुन् । यो राष्ट्रिय सुरक्षाको कुरा हो । भन्सार शुल्कका कारण म ती गर्न सक्षम भएँ । अहिले हामी सयौँ अरब डलर सङ्कलन गरिरहेका छौँ र देशको ऋण तिर्न थाल्नेछौँ ।”
ट्रम्पको यो निर्णयले ऊर्जा व्यापारमार्फत युक्रेनमा भइरहेको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गर्ने देशहरूविरुद्ध वासिङ्टनले अपनाइरहेको कडा ‘द्वितीयक ट्यारिफ’ रणनीतिलाई झल्काउँछ । अघिल्लो नीतिहरूले भारतलाई पनि लक्षित गरेका थिए । भारतमाथि रूसी तेल आयात गरेको भन्दै ५० प्रतिशत कर लगाइएको थियो । यसपटक भने यो नीति चीनतर्फ केन्द्रित देखिएको छ । चीन हाल रुसको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न सफल भएको छ ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा एक पोस्टमार्फत चिनियाँ सामानहरूमा ‘उनीहरूले अहिले तिरिरहेका कुनै पनि करबाहेक थप १०० प्रतिशत कर’ नोभेम्बर १ देखि लागू गर्ने घोषणा गर्नुभएको थियो । उहाँका अनुसार यो निर्णय चीनले संयुक्त राज्य अमेरिकासँग ‘व्यापारमा असाधारण आक्रामक र शत्रुतापूर्ण’ व्यवहार गरेको प्रतिक्रियामा आएको हो ।
उहाँले आफ्नो पोस्टमा लेख्नुभएको थियो, “चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएको छ र व्यापारमा असाधारण आक्रामक स्थिति लिएको छ । त्यसैले सन् २०२५ नोभेम्बर १ देखि (वा चीनले गर्ने कुनै परिवर्तनको आधारमा चाँडो पनि) संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेका करभन्दा माथि १०० प्रतिशत कर थप गर्नेछ । सोही मितिदेखि सबै महत्त्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गरिनेछ ।”
ट्रम्पले चीनले ‘विश्वका सबै राष्ट्रहरूलाई असर पार्ने गरी ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने’ तयारी गरेको आरोप लगाउनुभयो । उहाँले लेख्नुभयो, “चीनले सन् २०२५ नोभेम्बर १ देखि आफूले उत्पादन गर्ने लगभग सबै वस्तुमा निर्यात नियन्त्रण लगाउने निर्णय गरेको छ, जसले कुनै अपवाद बिना सबै देशलाई असर गर्नेछ । यो अन्तर्राष्ट्रिय व्यापारमा नैतिक अपमान सरहको कदम हो ।”
राष्ट्रपति ट्रम्पको यो नीति अमेरिकाको घरेलु उत्पादनलाई प्राथमिकता दिँदै चीनसँगको व्यापार असन्तुलन घटाउने दीर्घकालीन रणनीतिक प्रयासको रूपमा व्याख्या गरिएको छ । रासस\एएनआई
प्रतिक्रिया