मलाई निशाना बनाउन सरकारले थप योजना बनाइरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो विरुद्ध थप षड्यन्त्र र योजना बनाइरहेको गम्भीर आरोप लगाएका छन्।
बुधवार आफ्नो बालकोटस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवलोकन गर्दै उनले गृहमन्त्रीले व्यक्तिगत दुस्मनी राखेर आफ्नो विरुद्ध लक्षित गतिविधि गरिरहेको दाबी गरे।
गृहमन्त्रीको हालैको अन्तर्वार्तालाई उद्धृत गर्दै ओलीले सरकारको उद्देश्य र गन्तव्य स्पष्ट रूपमा प्रति देखिएको बताए। उनले भने, “गृहमन्त्रीको अन्तर्वार्ता सुन्दा सरकारको नियत छर्लङ्ग देखिन्छ। यो सरकार मलाई निशाना बनाउन थप योजना बनाइरहेको छ।”
अध्यक्ष ओलीले जेनजी आन्दोलनको नाममा गलत तत्त्वहरूले देशविरुद्ध गम्भीर षड्यन्त्र रचिरहेको आरोप पनि लगाए। उनले भने, “यो आन्दोलनको आडमा आपराधिक समूहले सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेको छ। तर सरकारले यस्ता आपराधिक तत्त्वमाथि कारबाही गर्न असमर्थ छ।”
बालकोटस्थित आफ्नो घरमा भएको आक्रमणबारे बोल्दै ओलीले भने, “मेरो घरमा तोडफोड र आगजनी मात्र होइन, महत्त्वपूर्ण सामानहरू समेत लुटिएका छन्।” उनले यस्ता गतिविधिले आफूलाई विचलित नगर्ने भन्दै एमालेले देशमा शान्ति, सुव्यवस्था र भ्रष्टाचार नियन्त्रणका लागि अडिग रहने प्रतिबद्धता व्यक्त गरे।
“हामी अचानक पलाएका यस्ता तमासाबाट डराउँदैनौं। एमालेले देशमा स्थायित्व र सुशासन कायम गर्न कुनै कसर बाँकी राख्ने छैन,” ओलीले थपे।
प्रतिक्रिया