तिलिचो बेस क्याम्प र नागाउँमा टेलिकमको मोबाइल तथा भ्वाइस सेवा विस्तार
नेपाल टेलिकमले हिमालपारीको जिल्ला मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस टावर स्थापना गरी २जी र ४जी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवा आज असोज ३१ गतेदेखि सुरु भएको हो।
नेपालको पदयात्राका लागि लोकप्रिय स्थलमध्ये एक तिलिचो ताल जाने रुटमा करिब ४३५० मिटर उचाइमा माइक्रोवेभ प्रविधिमार्फत यो सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ। सेवा सञ्चालनमा आएपछि खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका स्थानीय बासिन्दा र पर्यटकहरूलाई सञ्चार सम्पर्कमा सहजता पुग्ने भएको छ। यसले पर्यटन, होटल व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा जोडिन मद्दत गर्नेछ। उच्च उचाइ र प्रतिकूल मौसम हुने यस क्षेत्रमा पदयात्रीहरूलाई स्वास्थ्य समस्या भएमा आपतकालीन उद्धारमा पनि यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ।
यसैगरी, दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम ठूलो बस्ती नागाउँमा यही असोज २८ गतेदेखि भि-स्याट (V-SAT) प्रविधिमार्फत भ्वाइस सेवा सुचारु भएको छ। ४१९० मिटर उचाइमा रहेको यो साइटबाट बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूधकुण्ड, यालुङ बेसक्याम्प र टासी लेप्चा पास बेसक्याम्प क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सुविधा पुग्नेछ। आपतकालीन उद्धार कार्यमा पनि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
पर्यटकीय सिजनका कारण कामदार अभाव र सहयोगीहरूको स्वास्थ्य समस्या भए पनि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरूको अथक प्रयासले सेवा सञ्चालन सम्भव भएको हो।
नेपाल टेलिकमले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका जनतालाई समान दूरसञ्चार सेवा प्रदान गर्न उच्च प्राथमिकता दिँदै आएको जनाएको छ। यसले पर्यटन प्रवर्द्धन र स्थानीय जीवनस्तर उकास्न योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया