शुक्रबार, ३१ असोज २०८२

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको प्रवेश : उद्योग पुनः सञ्चालनको तयारी तीव्र

समयपोष्ट २०८२ असोज ३१ गते १८:३९


कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिमा नयाँ लगानीकर्ता समूहको आगमनसँगै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ।

Advertisement

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा यो समूहले उद्योग पुनर्जीवित गर्ने लक्ष्य राखेको हो।

नयाँ लगानीकर्ताहरूमा अमेरिकामा १५ वर्षदेखि निर्माण तथा अन्य व्यवसायमा संलग्न एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा–व्यवसायमा सक्रिय शालिक पाठक रहेका छन्। उनीहरूले नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य सुरु गरेका छन्।

विगत केही वर्षदेखि सीमित सञ्चालनमा रहेको उद्योगलाई अब पूर्ण रूपमा चलाउने योजना अघि बढाइएको अध्यक्ष चौलागाईंले बताए। उनका अनुसार निकट भविष्यमा ‘विनायक’ र ‘गणपति’ ब्रान्डका नयाँ सिमेन्ट उत्पादन गरी नेपालका प्रमुख शहरहरूमा बजार विस्तार गरिनेछ।

चौलागाईंले भने, “निर्माण र पूर्वाधार विकासका चुनौतीबीच पनि हामी गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने संकल्पमा छौं। नयाँ समूहको प्रवेशले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी र माग पूरा गर्न काम गर्नेछौं।”

Advertisement

उद्योग सञ्चालनले कपिलवस्तु र आसपासमा रोजगारी सिर्जना हुने, स्थानीय उत्पादन प्रवर्द्धन हुने र स्वदेशी ब्रान्डको योगदान मजबुत हुने अपेक्षा गरिएको छ। कम्पनीले उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री